प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने
आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ ।
बारको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।
धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना दिने बताए ।
आफूहरु सडकमा जान नचाहेको, तर सर्वोच्च प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गेट बन्द गरेका कारण सडकमा धर्ना दिनुपरेको उनले बताए । आइतबार नेपाल बारतर्फको सानो गेट बन्द नगर्न आग्रह गर्दै उनले भने, ‘हामी सर्वोच्च अदालतको प्रांगणमा धर्ना दिन्छौं ।’