पूर्ण मात्रा खोप दिइएका मानिसहरूलाई बुस्टरका रूपमा अर्को मात्रा खोप दिने बारेमा छलफल

कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन नेपालमा पनि भित्रिन सक्ने आशङ्काहरू व्यक्त भइरहँदा पूर्ण मात्रा खोप दिइएका मानिसहरूलाई बुस्टरका रूपमा अर्को मात्रा खोप दिने बारेमा छलफल भइरहेको र छिट्टै निर्णयमा पुगिने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले बताएका छन्।

कस्ता व्यक्तिलाई दिने र कहाँबाट शुरू गर्ने भन्नेबारे मन्त्रालयले एउटा संयन्त्र बनाएर तयारी सकेलगत्तै बुस्टर मात्रा दिन शुरू गरिने मन्त्री विरोध खतिवडाले बीबीसीलाई बताए।

त्यसैगरी खोप अभियान सञ्चालन भइरहँदा पनि खोप नलगाएका व्यक्तिहरूको पहुँचमा खोप पुर्‍याउन १६ हजार खोप केन्द्रबाट खोप दिन लागिएको अधिकारीहरूले बताएका छन्।

गत माघ १४ गतेदेखि नेपालमा कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरू भएको थियो।

गृहकार्य हुँदै

पहिलो चरणको खोप अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी लगायतका सङ्क्रमणका बेला अग्रपङ्क्तिमा काम गर्नेहरूलाई समेटिएको थियो।

पहिलो मात्रा खोप लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाएका उनीहरूले पहिलो मात्रा लगाएको १० महिना नाघिसकेको छ।

खोप लगाएको छ महिनापछि खोपको प्रभाव कम हुँदै जाने विज्ञहरूका भनाइबीच अहिले खोपको ‘बुस्टर’ मात्रा दिनुपर्ने आवाज विभिन्न क्षेत्रबाट उठिरहेको छ।

विभिन्न देशमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएका बेला सरकारले खोपको बुस्टर मात्रा दिने गृहकार्य अगाडि बढाएको स्वास्थ्यमन्त्रीले बताएका हुन्।

”बुस्टर डोज पनि लगाउन मन्त्रिपरिषद्‌मा छलफल भएको छ। प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ। चाँडै नै कसरी लगाउने भन्ने कुरो मन्त्रालयले एउटा संयन्त्र तयार गर्छ,” उनले भने।

”प्रदेश, जिल्ला तह अस्पतालहरू कहाँ, कसरी शुरू गर्ने भन्ने त्यही अनुसार निर्देशन हुनुपर्‍यो। त्यो तयारी सकिएपछि हामी चाडै यसलाई अघि बढाउँछौँ।”

खोप ढुवानी

तस्बिर स्रोत,UNICEF NEPAL

तस्बिरको क्याप्शन,खोप ढुवानी

बुस्टर मात्रा दिनका लागि खोपको अभाव नरहेको उनी बताउँछन्।

खरिद गरिएका र अनुदानमा प्राप्त भएका ४० लाखभन्दा बढी खोप अहिले पनि भण्डारणमा रहेको र खरिद सम्झौता भइसकेका खोप आउने क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल प्रयोग भइसकेको मात्रा समेत जोड्दा छ करोड मात्रा खोप नेपाल आउने सुनिश्चित भइसकेको बताइएको छ।

बुस्टर मात्रा लगाउने कुरा भइरहँदा हालसम्म कुल जनसङ्ख्याको ३४ प्रतिशतले मात्रै पहिलो मात्रा र २८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको सरकारी विवरण छ।

धेरै मानिससम्म खोपको पहुँच नपुगेको विवरण आइरहँदा खोप केन्द्र थपेर आमनागरिकसम्म खोप पुर्‍याउन लागिएको मन्त्री खतिवडाले बताए।

”पुसको पहिलो हप्ताबाट नेपालका १६,००० पोइन्टमा खोप केन्द्र राख्दैछौँ। निश्चित समूहमा … उनीहरू हामीले भनेका ठाउँमा आएनन्। त्यसकारण हामी उनीहरूकहाँ पुग्ने भनेर १६,००० पोइन्टमा खोप राख्दैछौँ।”

खोप

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,खोप

”यो भन्दा अगाडि हामीले ६-७ हजार पोइन्टमा राख्यौँ। त्यसलाई तेबर गरेर हामी १६,००० पोइन्टमा राख्दैछौँ,” मन्त्री खतिवडाले भने।

खोप नपाउने सबैभन्दा ठूलो जनसङ्ख्या बालबालिकाको रहेको अधिकारीहरूले बताएका छन्।

अनुदानमा आएको एक लाख मात्रा फाइजर खोप केही दीर्घरोगी बालबालिका र अन्य बालबालिकालाई लगाइएको छ।

बाँकी बालबालिकाका लागि लगाउने गरी ६० लाख मात्रा उक्त खोप खरिद सम्झौता भएर आउने प्रक्रियामा रहेको सरकारी भनाइ छ।

के भन्छन् विज्ञ?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी खोप लगाएको ६ महिनापछि प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जाने सम्भावना रहने बताउँछन्।

जसका कारण विश्वका कतिपय देशले बुस्टर डोजको अभियान नै सञ्चालन गरिरहेका छन्।

मरासिनी नेपालमा पनि खोपका दुई मात्रा लगाएको ६ महिना पार गरिसकेकाहरूबाट बुस्टर डोज दिन शुरू गरिनुपर्ने बताउँछन्।

”अहिले खोप त्यतिकै थन्किएर बसेको छ। कतिपयले खोप लगाएको १० महिना नाघिसक्यो। त्यस कारण चाँडोभन्दा चाँडो निर्णय गरेर लगाउन (खोप) शुरू गर्दा हुन्छ,” उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ,‘खोप लगाइसकेपछि अब विरामीसँग घुलमिल गर्न सक्छु’

नेपालमा खोप उपलब्ध भए पनि खोपको पूर्ण मात्रा लगाउनेहरूको सङ्ख्या कम देखिनुमा व्यवस्थापन नै कारक हुन सक्ने मरासिनीको भनाइ छ।

खोप नलगाएको जनसङ्ख्या उच्च रहे फेरि कोरोनाभाइरसको प्रकोप ”फैलन सक्ने” उनी बताउँछन्।

केही समय अघिसम्म दक्षिण एशियाली राष्ट्रमध्ये नेपालमा खोप लगाउनेहरूको सङ्ख्या तुलनात्मक रूपमा उच्च थियो।

तर पछिल्लो समय भने खोप अभियान सुस्ताएको जस्तो सरकारी तथ्याङ्कले नै देखाउँछ।

”अहिले आएर खोप लगाउने क्रम घटेको जस्तो लाग्छ। यसलाई अलि प्राथमिकतामा राखेर व्यापक नगरे धेरैभन्दा धेरै जनसङ्ख्यालाई खोप लगाउन सकिँदैन,” उनले थपे।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.