नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता परिमार्जनविना पारित गर्न नसकिने बताएका छन् ।
सोमबार पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले ‘परिमार्जनसहित राष्ट्रिय हित अनुकुल बनाएर पारित गर्ने’ उल्लेख गरेका छन् ।
एमसीसी सम्झौता संशोधनविना कुनै हालतमा संसदबाट पारित गर्न नसकिने बताएका हुन् । बन्दसत्रमा सहभागी एक प्रतिनिधिले अनलाइनखबरसँग भने, ‘एमसीसीबारे प्रस्टै छ, परिमार्जनसहित राष्ट्रिय हित अनुकुल बनाएर पारित गर्ने भन्नुभएको छ ।’
आइतबार माओवादी केन्द्रको महाधिवेशनको उद्घाटनसत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रिय हित अनुकुल नै भएको दावी गरेका थिए । तर प्रचण्डले भने यथास्थितिमा एमसीसी राष्ट्रिय हित अनुकुलन भएको भन्दै परिमार्जन गर्नुपर्ने बताएको हो ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भइरहेको बन्दसत्रमा उनले २ घण्टा १५ मिनेट लगाएर प्रतिवेदन वाचन गरेका थिए ।
Comments are closed.