नेपालमा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिम देखिएको बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निगरानी बढाउन छलफल अगाडि बढाएको जनाएको छ।
भारतको राजधानी नयाँ दिल्लीसहित विभिन्न राज्यमा नयाँ प्रकारको उक्त भेरिअन्ट फैलिने क्रम केही बढेपछि रात्रिकालीन कर्फ्यूसहित विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरू घोषणा गरिएको छ।
अन्य राज्यमा पनि भिडभाड हुने स्थलमा कडिकडाउ सुरु गरिएको बताइएको छ।
विगतमा कोभिड भारतमा “फैलिएको केही सातापछि नेपालमा पनि फैलिएको पाइएका कारण” भारतको अवस्थालाई नजिकबाट नियालिएको अधिकारीहरू बताउँछन्।
अहिले नै नेपालमा प्रतिबन्धात्मक व्यवस्था कायम गर्नुपर्ने स्थिति नभएको रहे पनि “भविष्यमा समयानुकूल निर्णय लिनुपर्ने हुनसक्ने” उनीहरूको बुझाइ छ।
नयाँदिल्लीमा २४ घण्टाको अवधिमा ओमिक्रोन सङ्क्रमण भएका थप २९० जना फेला परेको विवरण आएको छ।
भारतमा अहिले ओमिक्रोनबाट ५७८ जना सङ्क्रमित भएको पुष्टि भएको छ।
सरकारी तयारी के छ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार अहिले निगरानी गर्ने काममा ध्यान दिइएको छ।
“भारतमा सङ्क्रमण बढ्दै गएपछि हामी प्रत्यक्ष प्रभावित हुने अवस्था हुन्छ। यस्तोमा अझ बढी परीक्षणहरू, सीक्वन्सिङ र यो सँगसँगै जनस्वास्थ्यका मापदण्डहरू पालना हुने खालका क्रियाकलाप बढाउनेगरी र कोभिड-१९ को खोपलाई तीव्रता दिनेगरी काम गरिरहेका छौँ,” डा. अधिकारीले भने।
भारतमा कोरोनाभाइरसको पहिलो लहरका क्रममा सङ्क्रमण उत्कर्षमा पुगेको एक महिनापछि नेपालमा पनि सङ्क्रमितको सङ्ख्या उच्च भएको अधिकारीहरू बताउँछन्।
दोस्रो लहरका बेला अझ चाँडो त्यसो भएको थियो।
मन्त्रालयका अनुसार भारतमा अवस्था जटिल भएको १५ देखि २० दिनमा नेपाल पनि अप्ठेरो अवस्थामा पुगेको थियो।