पुरुषभन्दा महिला ६ लाखले मात्रै बढी, जनसङ्ख्या वृद्धिदर घट्दो

नेपालको राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार देशभरि महिलाको सङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ रहेको छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ।

पुरुषभन्दा महिलाको सङ्ख्या छ लाख ९,८५८ जनाले मात्रै बढी छ।

नतिजामा ‘अन्य लिङ्गी’हरू समेटिएका छैनन्। विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार जनगणनाको पहिलो चरणमा सङ्कलित अन्य लिङ्गीहरूको तथ्याङ्क आठदेखि नौ महिनाभित्र सार्वजनिक गरिनेछ।

 

विभागका अनुसार नेपालमा जनसङ्ख्या वृद्धिदर ०.९३ रहेको छ। विसं २०६८ सालको तथ्याङ्कअनुसार उक्त दर १.४० प्रतिशत थियो।

तुलनात्मक रूपमा जनसङ्ख्या वृद्धिदर घटेको विभागका उपमहानिर्देशक रेग्मीले बीबीसीसँग भने।

”जनसङ्ख्या बढेको जस्तो देखिए पनि वृद्धिदर १ प्रतिशतभन्दा कम भएको छ। यसले नेपाल पनि विकासशील देशको सूचीमा उक्लिने सङ्केत गर्छ,” उनले भने।

जात्रा

EPA
नेपालमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क

  • २ करोड ९१ लाख+कुल जनसङ्ख्या
  • १ करोड ४९ लाख+महिला
  • १ करोड ४२.९ लाख+पुरुष
  • ०.९३%जनसङ्ख्या वृद्धिदर
  • २१ लाख ६९ हजार+विदेशमा रहेका नेपाली

स्रोतः CBS

त्यस्तै जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर रहेको तथ्याङ्क छ। एक दशकअघि नेपालमा जनघनत्व १८१ जना प्रतिवर्गकिलोमिटर थियो।

बुधवार सार्वजनिक तथ्याङ्कअनुसार विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजार ४७८ छ।

सार्वजनिक तथ्याङ्क जनगणना गर्दा हरेक गणकलाई दिइएको ‘कन्ट्रोल बुक’ अर्थात् फारमहरू समेटिएको किताबको आवरणमा उल्लिखित विवरणमा आधारित छ।

 

त्यसमा जम्मा कतिवटा घर गनियो, ती घरमा कति परिवार थिए, हरेक परिवारमा कति जना महिला र कति जना पुरुष थिए र ती घरका कति जना सदस्य विदेश गएका छन् भन्नेबारे विवरण उल्लेख गरिएको थियो।

सम्बन्धित

Comments are closed.