कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहरमा पानी सञ्चालनको तयारी सुरु भएको छ । राष्ट्रिय गौरवको उक्त आयोजना निर्माण सुरु भएको डेढ दशकपछि मूल नहर परीक्षणसँगै पानी सञ्चालन हुने भएको हो । भारततर्फको टनकपुर ब्यारेजदेखि नेपालतर्फ साढे २८ किलोमिटर मूल नहरमा पानी सञ्चालन हुने आयोजना कार्यालयले जनाएको छ ।
भारतको एनएचपीसी (नेसनल हाइड्रोपावर कर्पोरेसन) र आयोजनाका प्राविधिकहरूले पानी सञ्चालनकै तयारीस्वरूप संयुक्त अनुगमन पनि गरेका छन । अनुगमनपश्चात् पहिलो चरणमा यसै साता नहरको परीक्षण गरिनेछ । दुई\तीन चरणमा परीक्षणपश्चात् पानी सञ्चालन गरिनेछ । अहिले सुरुमा निर्माण भएको नहरको सफाइको काम भइसकेको छ ।