सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन दिएको छ । शनिबार मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको थियो । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा देखिएका स साना त्रुटिलाई लिएर बाहिर अनावश्यक हल्लाहरू फिजाइएको बताउदै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मान बहादुर धामीले शनिवार बसेको दलको बैठकले बजेट पास गर्ने निर्णय गर्दै सबै प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएको बताउनु भएको थियो । बजेटमा भएका साना तिना त्रुटि कार्यान्वयनका क्रममा सम्बन्धित मन्त्रालय बाटै सच्याउने कुरा भएको मन्त्री धामीले बताउनु भएको थियो । बैठकमा सहभागी भएका प्रदेशसभा सदस्यहरूले बजेटमा त्रुटि भएकाले संशोधन गर्नुपर्ने धारणा राखेका थिए । तर मुख्यमन्त्री भट्टले कार्यान्वयनका क्रममा त्रुटि सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि उहाहरू बजेट पारित गर्न सहमत भएका मन्त्री धामीले बताउनु भएको थियो । असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश बहादुर रावलले प्रदेश सभामा प्रस्तुत गर्नु भएको अगामी आर्थिक वर्ष २०७९ – ८० को बजेट संशोधनको माग गर्दै सत्तारुढ दलकै सांसदहरूले प्रदेशसभा चल्न नदिने चेतावनी दिएपछि बैठक बस्न सकेको छैन । अहिले सम्म बजेट छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक तीन पटक स्थगित भइसकेको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकमा सरकार फेरबदल बारे भइरहेको चर्चाका विषयमा समेत कुराकानी भएको जनाइएको छ ।

सम्बन्धित

Comments are closed.