कोरोना भाइरस विरुद्धको १० लाख डोज खोप खेर जाने अवस्थामा

सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोना भाइरस विरुद्धको १० लाख डोज भन्दा बढी खोप खेर जाने अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार साउनको पहिलो साता कोभिसिल्डको १० लाख ७९ मात्रा खोपको म्याद सकिदै छ ।
सरकारले कोभ्याक्स सुविधा मार्फत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त गरेको थियो । समयमा लगाउन नसक्दा सोही खोप मध्येको १० लाख भन्दा बढी खोप म्याद सकिएर खेर जान लागेको हो ।
ती खोपको अवधि अब करिब १५ दिन भए पनि खोप अभियान सुस्त भएकाले धेरैजसो खोप प्रयोगमा नआउने आपूर्ति व्यवस्थापन महाशाखाका एक कर्मचारीले बताएका छन् । साउनको पहिलो हप्ता सम्म ती खोप प्रयोग गरि सक्न दैनिक ७१ हजार २६६ जनाले खोप लगाउनु पर्ने हुन्छ ।
जबकि अहिले कोभिसिल्ड खोप लगाउनेको दैनिक संख्या दुई देखि तीन हजार सम्म मात्र छ । खोप लगाउने दर घटि रहेकोले अब यो खोप खपत हुनेमा महाशाखाका अधिकारीहरु विश्वस्त छैनन् ।
हाल देशका अधिकांश क्षेत्रमा कोरोना भाइरसको खोप स्थानीय तह मार्फत लगाइएको छ । धेरैले पहिलो र दोस्रो चरणको खोप लगाएको र बुस्टरमा कोभिशिल्ड भन्दा अन्य खोप नै रोजाइमा रहेकोले यसको खपत हुन नसकेको हो ।
हाल अधिकांश मानिसले बुस्टर डोजका रुपमा फाइजर खोप लगाइ रहेका छन् । वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार हाल सम्म १८ बर्षभन्दा माथिका ३२ प्रतिशत मानिसले बुस्टर डोज पाएका छन् । ‘एस्ट्राजेनिका खोप म्याद कम भएकाले त्यसको बढी खपत गरेका थियौं ।
पछि कोरोनाको संक्रमण कम भएसँगै खोप लगाउने मानिसको संख्या पनि कम भयो । अहिले कोभिसिल्डको ठूलो मात्रा रहेकाले खपत गर्न चुनौती थपिएको थापाले बताउनु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.