नेपाल आयल निगमले खरिद गरेको विभिन्न ठाउको जग्गा सदुपयोग हुन सकेन

नेपाल आयल निगमले खरिद गरेको देशका विभिन्न भागका जग्गा सदुपयोग नभएको पाइएको छ । निगमले आर्थिक वर्ष २०७३÷७४ मा रूपन्देही, चितवन, सर्लाही र झापामा किनेको २ अर्ब ५ करोड ६६ लाख रुपैयँ लागतको ६८ बिघा जग्गा हालसम्म उपयोगमा नल्याउदा गलत उद्देश्यका लागि प्रयोग भएको पाइएको महालेखा परीक्षकको ५९औं प्रतिवेदनमा उल्लेख छ ।
पेट्रोलियम पाइपलाइन र भण्डारण पूर्वाधारका लागि महँगोमा किनिएको जग्गा कतै खेल मैदान बनाएर स्थानीयले प्रयोग गरेको तथा कतै भने नेपाली सेनाले कब्जा गरेको प्रतिवेदनमा उल्लेख छ ।

जग्गाको उचित उपयोग र संरक्षण गर्न आयल निगमलाई प्रतिवेदनले सुझाएको छ । सर्लाहीको जग्गामा एलपीजी ग्यास बोटलिङ प्लान्ट बनाउने, चितवन र झापाको जग्गामा अमलेखगञ्जको जस्तै पाइपलाइनको व्यवस्था गरी भण्डारणको व्यवस्था गर्ने निगमको कार्ययोजना थियो ।
रूपन्देहीमा रहेको जग्गामा पेट्रोलियम पदार्थ भण्डारणको कार्य गर्न केही जग्गा नपुग रहेको हुदा थप जग्गा प्राप्ति पछि पूर्ण उपयोगमा ल्याउने निगमको योजना थियो ।
निगमको पोखरा प्रादेशिक कार्यालय अन्तर्गत रहेको ७७ रोपनी जग्गा मध्ये करिब १८ रोपनी जग्गा निगमको नियन्त्रणमा नरहेको र उक्त जग्गा स्थानीय बासिन्दाहरूले खेल मैदान तथा बाटोको रूपमा प्रयोग गरिरहेको पनि प्रतिवेदनमा औल्याइएको छ ।
निगमको लालबन्दी १, सर्लाही स्थित जग्गामा तारबार नहुनाले स्थानीयले सडक निर्माण गरी प्रयोग गरेको, धनकुटा स्थित जग्गा र भवन रेडियो नेपालले प्रयोगमा ल्याए पनि बहाल रकम असुल नगरेको, चारआली स्थित जग्गामा तारबार नभएकाले अतिक्रमणको जोखिम रहेको, जनकपुर स्थत जग्गाको अधिकांश भूभाग नेपाली सेनाले प्रयोग गरेको र थानकोट स्थित जग्गामा समेत पूर्ण रूपमा तारबार नगरेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित

Comments are closed.