कोरोना भाइरस मानिसबाट मानिसमा फैलन सक्ने
भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार
चीनमा फैलिइरहेको रहस्यमय कोरोना भाइरस मानिसबाट मानिसमा फैलन सक्ने अधिकारीहरुले जनाएका छन् ।
कोरोना भाइरस फैलिइरहेको अवस्थामा चीनमा अर्काे एक जनाको ज्यान गएको छ । योसँगै यो भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
८९ वर्षीय एक व्यक्तिको कोरोना भाइरसबाट ज्यान गएको हो । यी व्यक्तिमा निमोनियाको लक्षण देखिएको अधिकारीहरुले बताएका छन् । यी व्यक्ति कोरोना भाइरसको प्रकोप रहेको ठाउँ वुहान शहरमा रहँदै आएका थिए ।
मुख्यतया बेइजिङ र शङ्घाईसहित चीनका प्रमुख शहरहरुमा दुई सय जनाभन्दा बढी मानिसमा यसको सङ्क्रमण देखिएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले चीनको गुवाङ्गदोङ्ग प्रान्तमा सङ्क्रमणको दुई वटा घटना मानिस–मानिसबीच प्रसारणको कारण भएको पुष्टि गरेको थियो ।
वुहान म्युनिसिपल हेल्थ कमिसनले वुहानमा कम्तीमा १५ जना चिकित्सा कर्मचारीलाई यो भाइरसले सङ्क्रमित गरेको छ, जसमध्ये एक जनाको अवस्था गम्भीर छ ।
यो भाइरसबाट सङ्क्रमित भएकाहरुको उपचारको क्रममा सबैलाई छुट्टाछुट्टै राखिएको छ ।
यो भाइरस अहिलेसम्म चार एसियाली देशमा देखिएको छ । श्वासप्रश्वाससम्बन्धी समस्याको कारण बन्ने यो भाइरस जापान र थाइल्याण्डपछि दक्षिण कोरिया पनि पुगिसकेको छ ।
गएको सोमबार दक्षिण कोरियामा यो भाइरसको पहिलो घटना सार्वजनिक भएको थियो ।
Comments are closed.