प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका १३ देशले गरेको प्रतिबद्धता अनुसार नेपालले बाघको संख्या दोब्बर बनाउन सफल भएको र बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित भएको बताउनु भएको छ । उहाँले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताउनु भएको छ ।
विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समिति नेपाल द्वारा शुक्रबार यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले बाघको संरक्षण बाट वातावरण स्वच्छ हुने भएकाले यसको संरक्षणमा जुट्न आह्वान गर्नुभयो । बाघ पाइने विश्वका सीमित देशमध्ये नेपाल पनि एक भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले बाघको संरक्षण बाट पर्यटकीय क्रियाकलाप गरी आर्थिक उपार्जन बढ्ने बताउनुभयो ।
बाघको संरक्षण वृद्धि सुखद, नेपालले सन् २०१० रुसको सेन्ट पिटर्स वर्गमा गरिएको सम्मेलनको महत्वाकांक्षी योजना अनुसार लक्ष्य पूरा गर्न योगदान गर्ने सबैलाई हार्दिक धन्यवाद दिदै प्रधानमन्त्री देउवाले बाघका लागि पर्याप्त आहार र विचरण क्षेत्र नहुँदा मानव बस्तीमा पसेर दुःखद् घटना हुने गरेकाले यसबाट सचेत हुनुपर्ने समय आएको बताउनु भयो ।
बाघको बासस्थान व्यवस्थापन गरेर स्थानीयवासीको जीविकोपार्जन सुधार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताउनु भयो । बाघ संरक्षणका चुनौती अन्त्य गर्न थप अध्ययन अनुसन्धान आवश्यक भएको भनाइ उहाँले राख्नुभयो । संरक्षित क्षेत्र वरपरको बस्तीलाई सुरक्षित गर्न आवश्यक भएको पनि प्रधानमन्त्री देउवाले बताउनु भयो ।
बाघको छला, हड्डी लगायतका कारण चोरी सिकारी हुन सक्ने भएकाले संरक्षणका चुनौती सामना गर्ने गरी तयारी गर्न मन्त्रालय लगायत सरोकार निकायलाई उहाँले निर्देशन दिनुभयो । उहाँले बाघ संरक्षणका लागि कर्मचारी वृद्धि, क्षमता वृद्धि, अन्तर्राष्ट्रिय सहायता संस्था सँग समन्वय आवश्यक भएको धारणा राख्नुभयो ।
Comments are closed.