भाइरल ज्वरोका बिरामी बढ्न थाले

नेपालको विभिन्न अस्पतालहरुमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेपछि कतिपय ठाउमा विद्यालय समेत बन्द गरिएको छ ।

बिरामीको संख्या बढ्दा उपचारमा समेत समस्या भएको डाक्टरहरुले बताएका छन् । भाइरल ज्वरोका कारण इलाम जिल्लाको विभिन्न पालिकामा रहेका विद्यालयहरु बन्द भइसकेका छन् । यस्तै, डोटीमा पनि बिरामीको संख्या बढेपछि उपचारमा समस्या भएको डाक्टरले बताएका छन् ।

डोटीमा उपचारका लागि आउने बिरामी मध्ये ६० देखि ७० प्रतिशत बिरामी भाइरल ज्वरोका भएका शैलेश्वरी अस्पताल दिपायलका डाक्टर ललित कुमार लिम्बुले बताउनु भयो । यस्तै काठमाण्डौमा पनि भाइरल ज्वरोका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनु भयो ।

ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाटी दुख्ने लगायतका लक्षण बिरामीमा देखिने गरेको डाक्टरले बताएका छन् । बाल बालिकालाई ज्वरो आउने, ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहने लगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षण समेत देखा परेको छ ।

डाक्टरले भिडभाडमा नजान र मास्कको प्रयोग गर्न सुझाव दिदै आएका छन् । पानी उमालेर मात्र खान र बासी सडेगलेका खानेकुरा नखान डाक्टरको सुझाव छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.