निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी–विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रम अनुसार आउदो भदौ १२ देखि १९ गते सम्म मतदाता नामावली अद्यावधिक (दाबी–विरोध समेत) को कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुने छ ।
उक्त प्रक्रिया अन्तर्गत नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदानस्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिन सकिने छ ।
नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइन बाट समेत निवेदन दिने व्यवस्था छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भए पश्चात् प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
मंसिर ४ गते निर्वाचन हुने गरी नेपाल सरकार बाट घोषणा भएपश्चात् निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय बाट हुदै आएको मतदाता नामावली संकलन कार्य स्थगन भएको छ ।