महेन्द्रनगर । आईतवारदेखी कञ्चनपुरको महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु हुँदैछ । उक्त खेलको परराष्ट्र मन्त्री एनपी सावदले उदघाटन गर्ने भएका छन् । शनिवार पत्रकार सम्मेलन गर्दै आयोजकले आईतवार १ बजेदेखी महेन्द्रनगरमा रहेको खुल्ला मञ्चमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उदघाटन हुने बताएको हो ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एव कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा हुने प्रतियोगिता ७ वटा प्रदेश र ३ विभागिय टिम गरेर १० टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ । कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह मौनीले आफ्नो गृहजिल्लामा भईरहेको प्रतियोगिता सफल पार्नका लागि जिम्मेबारी दिएका विभिन्न उपसमितिदेखि प्राविधिक रुपमा काम सम्पन्न भईसकेको र सबै टिमहरु जिल्लामा पुगिसकेको जानकारी दिए ।

अध्यक्ष मौनीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीले मञ्च व्यवस्थापन, कोड निर्माणदेखि व्यवस्थापकीय कार्यमा सहयोग गरेको बताए । भलिबल अवलोकनका लागि विद्यार्थी तर्फ २० र साधारण तर्फ ५० रुपैया शुल्क निर्धारण गरिएको र भोली उदघाटनमा कुनै पनि शुल्क नलिने उनले बताए । नेपाल सरकारले बजेट ८० लाखको रकम रहेको र १ सय ६० जना खेलाडीहरुको आवजाव, बस्नखान, सबैमा खर्च र अम्पायर लगायतका अन्य खर्चहरु सबै यसैबाट व्यवस्थापन गरिने उनले बताए ।

साथै टिकटबाट उठेको केही रकम कञ्चनपुरमा रहेका भलिबल खेलाडीहरुमा लगानी गरिने, केही रकम अनाथालयमा र केही रकम वृद्धा आश्रममा पनि सहयोग गरिने भएको छ । यो खेलकुदको माध्यमबाट कञ्चनपुरको बेग्लै पहिचान दिन र देशभरमा सकारात्मक सन्देश दिनका लागी र यहाँ रहेको पर्यटकिय क्षेत्रहरुको पहिचान दिनका लागी पनि यो खेलकुद कञ्चनपुरमा आयोजना गरिएको कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष मौनीले जानकारी दिए ।
दैनिक ४ वटा भलिबलका खेल हुने र बिचबिचमा मनोरन्जनका लागी बिभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि रहेको उनले बताए । सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक सिहले यस अघि दुई पटक सम्पन्न भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताको सफलतापछि तेस्रो पटक कञ्चनपुरमा गर्न लागेको बताए । उनले धेरै लामो समयदेखी यो क्षेत्रमा भलिबल नभएको अवस्थामा भोलीदेखी भलिबलको कुम्भ मेलाको आयोजना भईरहेको बताए । साथै उनले सबैले यो खेलकुदलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नका लागी साथ र सहयोग रहेको बताए ।
भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश प्रशाद भट्टले यो खेलकुदले आफनो पहिचान दिने र युवाहरुलाई पनि यो भलिबलमा लगाव रहोस स्थानिय अभिभावकहरुले पनि आफनो बालबालिकाहरुलाई खेलकुदमा लाग्न अभिप्रेरित गर्न सकुन भनेर पनि यो खेलकुदले सिकाउने बताए । यो प्रतियोगितालाई प्रभावकारी बनाउन संघका पदाधिकारी सदस्यलाई विभिन्न जिम्मेबारी दिईएको छ ।
भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश प्रशाद भट्टलाई मञ्च व्यवस्थापन तथा प्राविधिकफाँट, भरत बहादुर चन्दलाई टिकेट, गंगादत्त अवस्थलिाई स्वयमसेवक परिचालन, मानसिह रावतलाई यातायात व्यवस्थापन, सचिव विष्ट स्वयमलाई सचिवालय व्यवस्थापन, अञ्जु जोशीलाई अतिथि सत्कार, सत्येश बहादुर चन्दलाई साँस्कृतिक व्यवस्थापन, पार्किङ्ग व्यवस्थापन रमेश केसी, नवराज भट्टलाई मिडिया संयोजकको जिम्मेबारी दिईएको छ । प्रतियोगिता विजेता टिमलाई नगद ४ लाख, उप विजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगद सहित ट्रफि, मेडलका साथै प्रमाण पत्र प्रदान गरिनेछ ।
चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ ।सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
Comments are closed.