महेन्द्रनगर । सुदूरपश्चिममा महिलाहरु आफनै श्रिमानबाट असुरक्षित रहेको पाइएको छ । पछिल्लो समयमा महिलाहरु माथी भएका विभिन्न घटनाले महिलाहरु असुरक्षित रहेको पाइएको हो । आइतबार बैतडीमा एक जनाले आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गरे।
जिल्लाको दोगडाकेदार–२ कफलकोटका ३४ बर्षीय महेश महराले ३२ बर्षीया श्रीमती वसन्ती महरामाथि चक्कु प्रहार गरेका हुन् । घरको आगनमा गहुँ चुट्ने क्रममा वसन्तीमाथि महेशले चक्कु प्रहार गरेको प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। चक्कु प्रहारबाट वसन्तीको कम्मरमा चोट लागेको छ।
श्रीमतीमाथि चक्कु प्रहार गर्ने महेशलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। मंगलबार डडेल्धुरामा श्रीमानले बन्चरो प्रहार गर्दा गम्भीर घाइते महिलाको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको छ। ३८ वर्षीया डम्बरीदेवी देउवा श्रीमानले बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन्। त्यसपछि प्रहरीले उनका श्रीमान आलिताल गाउँपालिका–२ मटेलाका ४२ वर्षीय कर्णबहादुर देउवालाई पक्राउ नै गरेको थियो।
कर्ण बहादुरले मंगलबार साँझ घरायसी विवादका कारण कुटपिट गर्दा डम्बरी गम्भीर घाइते भएकी थिइन्। त्यसपछि प्रहरी चौकी गाङ्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते डम्बरीको स्वास्थ्य चौकी गाङ्खेत हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो।
यी दुई घटना हालै मात्र घटेका केबल प्रतिनिधी उदाहरण मात्र हुन्। आफ्नै श्रीमानबाट पीडित बन्ने र कतिपय महिलाले अकालमै ज्यान गुमाउनु परेका घटना यसैगरी वर्षेनि दोहोरिने गरेका छन्।
Comments are closed.