नेपाल शिक्षक महासंघ धनगढीद्वारा सेवा निवृत्त शिक्षक तथा कर्मचारी सम्मानित

महेन्द्रनगर । नेपाल शिक्षक महासंघ धनगढी उपमहानगरपालिका कार्यसमितिले दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै सेवा निवृत्त शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई सम्मान गरेको छ ।

नेपाल शिक्षक महासंघ धनगढी उपमहानगरपालिका कार्यसमिति अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय सचिव धनबहादुर सिंह प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा धनगढी उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा लामो समयसम्म शिक्षा क्षेत्रमा योगदान पुर्‍याई सेवा निवृत्त हुनुभएका शिक्षकहरू लक्ष्मण दत्त भट्ट, ज्ञानेन्द्रबहादुर शाह, गणेशदत्त जोशी, राजेन्द्र पोखरेल, हेमराज जोशी, नवराज अवस्थी, लक्ष्मी पाण्डेय, सवितादेवी उपाध्याय, चक्र बीके, जयप्रकाश मिश्र, नवराज ओझा, खेमा शाह, सावित्री जोशी, दामोदर बस्नेत, हरिना सिंह, बाबुराम चौधरी, बसन्ती भण्डारी र अनिता श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।

त्यसैगरी सेवा निवृत्त विद्यालय कर्मचारीहरू रुद्रराज भुजेल, क्रिमलाल चौधरी र भीमबहादुर मगरलगायत शिक्षासेवीहरूलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ ।यसैबीच नेपाल शिक्षक महासंघको केन्द्रीय समितिमा मनोनित हुनुभएका केन्द्रीय सदस्य भूपालसिंह खड्कालाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव धनबहादुर सिंह, शिक्षक नेताहरू खडक खड्का, भूपालसिंह खड्का, डिल्लीराज पन्त, ज्ञानेन्द्रबहादुर शाह, नेत्रनाथ, प्रेम शाही, सीताराम अवस्थी, तेजबहादुर सिंह, लक्ष्मण दत्त भट्ट र गंगाराम ओझालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वक्ताहरूले शिक्षकहरूबीच एकता, आपसी सद्भाव र सहकार्य आवश्यक रहेकोमा जोड दिँदै नेपाल शिक्षक महासंघ धनगढीले आयोजना गरेको सहिष्णुतापूर्ण शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको प्रशंसा गरेका थिए । उनीहरूले शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्‍याएका शिक्षक तथा कर्मचारीहरूको सम्मानले नयाँ पुस्ताका शिक्षकहरूलाई समेत प्रेरणा मिल्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थागत सहअध्यक्ष गगनबहादुर सिंहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहसचिव गौरीशंकर जोशीले गर्नुभएको थियो ।

कार्यक्रमको प्रायोजन गरेको नवजीवन अस्पताल प्रा।लि। धनगढीले शिक्षकहरूका लागि टिचर स्पेसल हेल्थ केयर डिस्काउन्ट कार्डसमेत वितरण गरेको थियो ।

सम्बन्धित

Comments are closed.