कञ्चनपुरमा बाल संरक्षणसम्बन्धी घटना व्यवस्थापनका लागि दुई दिने तालिम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा बाल संरक्षणसम्बन्धी घटना तथा उजुरी व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन दुई दिने तालिम सम्पन्न भएको छ। भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका प्रतिनिधि तथा नगरस्तरीय बाल सञ्जालका सदस्यहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो।अस्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल पेसवानको साझेदारीमा सञ्चालित ‘रेसिलियन्ट फ्युचरः इन्डिङ चाइल्ड म्यारिज प्रोजेक्ट’ अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।

२०८३ साल कार्तिक ४ र ५ गते सञ्चालन भएको तालिममा दुवै स्थानीय तहका महिला तथा बालबालिका शाखाका कर्मचारी र नगरस्तरीय बाल सञ्जालका सदस्य गरी २० जनाको सहभागिता रहेको थियो।तालिममा बाल संरक्षणसम्बन्धी घटना तथा उजुरीको व्यवस्थापन, अभिलेखीकरण, प्रतिवेदन तयार गर्ने प्रक्रिया र अनुगमनका विषयमा सहभागीहरूलाई जानकारी तथा प्रशिक्षण दिइएको थियो। साथै बालबालिकामाथि हुन सक्ने हिंसा, दुर्व्यवहार तथा जोखिमपूर्ण अवस्थाको पहिचान गरी आवश्यक सहयोग र सेवा प्रवाहमा सहजीकरण गर्ने विषयमा समेत जोड दिइएको थियो।

बालबालिकाको अधिकार संरक्षण गर्दै जोखिममा रहेका बालबालिकाको पहिचान र उनीहरूलाई आवश्यक सेवामा पहुँच सुनिश्चित गर्न स्थानीय तह तथा बाल सञ्जालबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

तालिमले स्थानीय तहमा बाल संरक्षणसम्बन्धी घटना तथा उजुरी व्यवस्थापन प्रणालीलाई व्यवस्थित, प्रभावकारी र जवाफदेही बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै बाल संरक्षणका सवालमा स्थानीय तहका कर्मचारी तथा बाल सञ्जालका सदस्यहरूको क्षमता अभिवृद्धि भई बालमैत्री सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।

सम्बन्धित

Comments are closed.