एप डाउनलोड गर्दा २८ लाख गायब

महेन्द्रनगर। काठमाडौँमा बस्दै आएका जोन डोइ ( नाम परिवर्तन) ले नेप्से एआई डाउनलोड गर्दा २८ लाख ६१ हजार गुमाएका छन् । फेसबुकमा सेयर बजारको विश्लेषण गर्ने भनिएको नेप्स एआई डाउनलोड गरेर इन्स्टल गरेको छोटो समयमा उनले रकम गुमाएका हुन् ।

त्यसबारे उजुरी आएको केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबी) का एसएसपी होविन्द्र बोगटीले  बताए । उनले भने, ‘सो घटनाबारे हामी अनुसन्धान गर्दै छौँ ।’एप इन्स्टल गरेपछि ‘रिमोट सेसन’ खुलेको र त्यसपछि मोबाइलको स्क्रिन ब्ल्यांक भएर बैंकको रकम गायब भएको पीडितले प्रहरीलाई बताएका छन् ।पछिल्लो १ महिनायता सेयरको विश्लेषण गरेर धेरै नाफा कमाउन सक्ने भ्रामक सूचना प्रवाह गरेर नेप्से एआई मार्फत रकम चोरी हुने गरेको एसएसपी बोगटीले बताए ।

केन्द्रीय अनुसन्धान ब्युरोले त्यस्ता अपरिचित लिङ्क र एपहरू नखोल्न र इन्स्टल नगर्न आग्रह गरेको छ । सूचना जारी गरेर ब्युरोले भनेको छ, ‘प्रलोभनमा परेर नेप्से एआई लगायत कुनै पनि अपरिचित एपहरू डाउनलोड र इन्स्टल नगर्न हुन सर्वसाधारणमा अनुरोध गरिएको छ ।’

आधिकारिक श्रोतबाट मात्र एपहरू डाउनलोड र इन्स्टल गर्न ब्युरोले आग्रह गर्दै त्यस्ता घटनाबारे साइबर ब्यूरोमा उजुरी गर्न आग्रह गरेको छ । १ महिनादेखी सामाजिक सञ्जालमा त्यस्ता एपहरू छ्यापछ्याप्ती छन् ।

प्रारम्भिक अनुसन्धानबाट त्यस्तो एपबाट १ अर्ब भन्दा बढी रकम चोरी भएको प्रहरीको आशंका छ । एप डाउनलोड गरेर इन्स्टल गरेपछि ह्याकरले इमेल र खातामा पहुँच बनाएर सवै रकम ट्रान्सफर गर्ने गरेको ब्यूरोका अधिकृतहरु बताउँछन् ।

सम्बन्धित

Comments are closed.