महेन्द्रनगर । । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको परिवारले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनको रिहाइको लागि पहल गर्न आग्रह गरेका छन् ।
आइतबार सिंहदरबारमा प्रधानमन्त्रीलाई भेट्दै विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले निरन्तर पहल गर्न अनुरोध गरेका हुन् ।
यसअघिको सरकारले आश्वासन मात्र दिएको र कुनै नतिजा नआएकाले अबको सरकारप्रति ठुलो आशा रहेको आमा पद्माले बताइन् । विपिनकी बहिनी पुष्पाले अहिले प्रधानमन्त्री पदमा पनि एक महिला आमा नै भएकाले आफ्ना छोराछोरीको पीडा बुझ्ने विश्वास व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले विपिन जोशीको रिहाइको लागि पहल गर्ने आश्वासन दिएको पुष्पाले जानकारी दिइन् । विपिन जोशीलाई सकुशल नेपाल फर्काउन कुनै एक व्यक्ति वा संस्थाले मात्र नभई सबै मिलेर पहल गर्नुपर्ने उनको भनाइ थियो ।
यसअघि शनिबार हमासको सशस्त्र समूह कासम ब्रिगेडले विपिनसहित ४८ इजरायली बन्धकहरूको तस्बिर सार्वजनिक गरेको थियो, जसले परिवारमा थप चिन्ता बढाएको छ ।
Comments are closed.