महेन्द्रनगर । सुदूरपश्चिमको दुर्गम जिल्ला बाजुराका स्याउ सिधै धनगढी ढुवानी हुन थालेका छन् । मुक्तिनाथ कृषि कम्पनी सुदूरपश्चिम, स्थानीय पालिका र कृषि ज्ञान केन्द्रको समन्वयमा बजार नपाएका स्याउ अब धनगढी आउन थालेका हुन् ।
बाजुराको स्वामिकार्तिक गाउँपालिका–१ जोरुका दन्त रावलले यो वर्ष २५ लाखभन्दा बढीको स्याउ बिक्री गरेको बताए । पहिलोपटक गाउँबाटै ठूलो मूल्यका स्याउ बिक्री भएपछि उनी मख्ख छन् ।
अघिल्लो वर्षसम्म उत्पादन भएका स्याउ कसरी बिक्री गर्ने भन्ने चिन्ताले किसानलाई सताउँथ्यो । तर यो वर्ष बिक्री त के सदरमुकामसम्म पु¥याउने झन्झट पनि उनीहरूलाई भएन । ‘गाडीमा ५ घण्टा, हिँडेर डेढ दिन लाग्छ सदरमुकाम पुग्न । त्यति दुःख गरेर स्याउ पु¥याइहाल्यौं भने पनि बिक्री हुने हो कि होइन भन्ने चिन्ता हुन्थ्यो ।
सस्तोमै बेच्नु पथ्र्यो । तर यो वर्ष राम्रो मूल्यमा गाउँबाटै सबै स्याउ बेच्यौं,’ रावलले भने । किसानले स्याउ बिग्रिन नदिन गोदाममा राख्नु पर्ने हुन्छ ।
एक दिनको गोदाम शुल्क मात्रै ५ देखि ७ हजार लाग्छ । मार्तडीमा बिक्री नभएका स्याउ सुर्खेत लगेर बेच्नु पर्ने बाध्यता किसानलाई थियो ।
पोहर साल जोरुबाट २ दिन लगाएर मार्तडी हुँदै सुर्खेत स्याउ पु¥याएका रावलले त्यहाँ उचित मूल्य नपाएको सुनाए । ‘गोदामको, खानबस्नको पैसा लाग्ने । सुर्खेत पु¥याएर पनि सस्तोमा बेच्नु पर्ने ।
आधा स्याउ सडेर जाने । फाइदा भन्दा घाटा बढी हुथ्यो,’ उनी भन्छन्, ‘अहिले केही चिन्ता छैन । हाम्रो स्याउ सिधै धनगढी पुग्छ ।’
Comments are closed.