अपराध नियन्त्रणदेखि जनचेतनासम्म कञ्चनपुर प्रहरीको सक्रियता

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंसिर महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार प्रहरीले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम गर्ने कार्य र सामाजिक सचेतनाका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको देखिन्छ ।

मंसिर महिनामा जिल्लाभर जम्मा ७६ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये १३ वटा मुद्दाहरू जघन्य तथा गम्भीर प्रकृतिका रहेका छन् । तथ्याङ्कअनुसार ज्यान मार्ने उद्योगमा २, जबरजस्ती करणीमा ४ र सवारी ज्यानमा ४ वटा मुद्दा दर्ता भएका छन् ।

यसैगरी, समाजमा बढ्दो बैंकिङ कसुरका १२ वटा र अभद्र व्यवहारका १३ वटा मुद्दाहरू दर्ता हुनुले वित्तीय र सामाजिक अनुशासनको चुनौतीलाई समेत संकेत गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ८ वटा मुद्दा दर्ता भएका छन् भने ७ वटा आत्महत्याका घटनाहरू घटेका छन् ।

फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले २८ वर्ष ३ महिना १६ दिन कैद सजाय र ९ लाख ६० हजार ४८२ रुपैयाँ जरिवाना असुल उपर गर्न सफल भएको छ ।
लागुऔषध र अवैध मदिरा नियन्त्रणमा कडाइ
लागुऔषधको दुव्र्यसनी नियन्त्रण गर्न प्रहरी निकै आक्रामक देखिएको छ । मंसिर महिनामा २२.२८ ग्राम खैरो हेरोइन बरामद हुनुका साथै ३३ जना (३१ पुरुष र २ महिला) लाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । यसका साथै प्रहरीले अवैध मदिरा नियन्त्रण अभियान अन्तर्गत १ सय लिटर मदिरा नष्ट गरेको छ ।
सडक सुरक्षा र राजस्व संकलन
सडक सुरक्षाको क्षेत्रमा मंसिर महिना कञ्चनपुरका लागि चुनौतीपूर्ण देखिएको छ । यस अवधिमा ७४ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३ जनाले ज्यान गुमाएका छन् भने ११८ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ६४८ वटा सवारी साधनलाई कारबाही गरी प्रहरीले ४ लाख ७२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी, भन्सार छली तथा अवैध पैठारी नियन्त्रणका क्रममा ८८ लाख १२ हजार ७६ रुपैयाँ बराबरको सामान बरामद गरी आवश्यक कारबाहीका लागि पठाइएको छ । प्राकृतिक सम्पदा दोहन रोक्ने क्रममा ३ वटा ट्र्याक्टर नियन्त्रणमा लिई ८९ हजार २०१ रुपैयाँ जरिवाना असुल गरिएको छ ।
जनचेतना र समुदायसँगको सहकार्य
प्रहरीले केवल दण्डात्मक विधि मात्र नभई निरोधात्मक विधिलाई पनि प्राथमिकता दिएको छ । महिनाभर १०५ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन्, जसमा ६ हजार ३५ जना स्थानीयको सहभागिता रहेको थियो । विद्यालय लक्षित कार्यक्रम अन्तर्गत ४३ वटा विद्यालयका ३ हजार ६ विद्यार्थीहरूलाई सुरक्षा र सचेतनाका बारेमा जानकारी गराइएको छ ।
विपद् व्यवस्थापन र अन्य सेवा
मंसिर महिनामा १८ वटा विपद्का घटनाहरू घटेका छन्, जसमा ३ जनाको मृत्यु भएको छ । विपद्को समयमा प्रहरीले ५९ लाख ८२ हजार ७ सय रुपैयाँ बराबरको धनमाल उद्धार र संरक्षण गर्न सफल भएको छ ।

साथै, नागरिकका गुनासा सुन्नका लागि सञ्चालित हटलाइन (१००) मार्फत ५ सय वटा कलहरू सम्बोधन गरिएका छन् ।

कञ्चनपुर प्रहरीले मंसिर महिनामा अपराध नियन्त्रण र कानुनी शासनको प्रत्याभूति दिलाउनका साथै सामाजिक सुरक्षा र जनचेतनाका क्षेत्रमा पनि सन्तुलित सक्रियता देखाएको छ ।

सम्बन्धित

Comments are closed.