अत्यधिक चिसो बढेपछि कञ्चनपुरमा सामुदायिक र संस्थागत विद्यालयमा ३ दिन शैक्षिक बिदा दिइएको छ । भीमदत्त नगरपालिकाले पछिल्लो समय चिसो बढदै गएपछि सामुदायिक र संस्थागत विद्यालयमा ३ दिन बिदा दिएका छन् ।
“मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने भएकाले बिदा दिने निर्णय गरेका छौँ”, भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरीदत्त जोशी भने, “जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको छ ।”
शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठेरो भइरहेको जनगुनासो आएपछि विद्यालयमा बिदा दिइएको उनले बताए ।
जाडोका कारण विद्यार्थी बिरामी पर्ने र कक्षाकोठामै पनि चिसोका कारण बस्ने वातावरण नभएपछि विदा दिइएको छ । कञ्चनपुमा दुई सातादेखि शीतलहरसँगै कुहिरो र हुस्सु लाग्नाले जनजीवन प्रभावित भएको छ । बेलौरी, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले यो भन्दा पहिले नै विदा दिएका छन् ।
कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा विगत चार दिनदेखि मौसममा आएको परिवर्तनका कारण हुस्सु, कुहिरो र शीतलहर चल्न थालेको छ । घाम नलाग्ने र दिनभरि चिसो हावा चल्ने क्रम बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ ।
विशेषगरी बिहानीको समयमा विद्यालय जाने साना बालबालिका चिसोका कारण बिरामी पर्न सक्ने जोखिम बढेको छ । मौसमसम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट dhm.gov.np, फेसबुक एमएफडी डट नेपाल डट पाँच, ट्विटर डीएचएम अण्डरस्कोर वेदरमा गएर जानकारी
लिन र फोनबाट जानकारी लिनको लागि निशुल्क नम्वर ११५५ वा ०१ ४११३३४५ र ०१ ४११३१९१ मा फोन गरेर पनि मौसम बारेको जानकारी लिन सकिन्छ ।
Comments are closed.