महेन्द्रनगर । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरले तीन वटै निर्वाचन क्षेत्रबाट सात जना उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
सोमबार बसेको जिल्ला कमिटीको बैठकले तीन वटै निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकबाट सिफारिस भई आएका नामहरूमा रायसहित सात जनाको नाम प्रदेश कमिटीलाई पठाउने निर्णय गरेको हो ।
नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख जनकराज अवस्थीले तीन वटै क्षेत्रीय कमिटीले पठाएका नामहरूलाई आवश्यक सुझावसहित प्रदेश कमिटीमा सिफारिस गरिएको जानकारी दिनुभयो ।उहाँका अनुसार, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट तीन जनाको नाम सिफारिस गरिएको छ ।
सिफारिस सूचीमा विघटित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, केन्द्रीय कमिटी सदस्य कमला बोहरा तथा निवर्तमान केन्द्रीय सदस्य इन्दु कडरियाको नाम सिफारिस गरिएको छ ।
यसैगरी, निर्वाचन क्षेत्र नम्बर–२ मा भने प्रतिनिधि सभा सदस्यको उम्मेद्वार छनोटका लागि आइतबार मतदान प्रक्रिया सम्पन्न भएको थियो ।
मतदानबाट निर्वाचित हुनुभएका पूर्व केन्द्रीय सदस्य नरबहादुर धामी, प्रदेश कमिटी सदस्य पार्वती जोशी र जिल्ला पार्टी उप–सचिव अशोककुमार चन्द सिफारिस हुनुभएको हो ।
यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ मा भने सर्वसम्मत रूपमा जिल्ला कमिटीले पूर्व सांसद डा. दीपकप्रकाश भट्टको नाम सिफारिस गरिएको जनाएको छ ।
सेना, सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञसमेत रहनुभएका नेता भट्ट विसं. २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
Comments are closed.