भीमदत्त नगरपालिका–११ मा ३ महिने कम्प्युटर बेसिक तालिम सम्पन्न

महेन्द्रनगर ।कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ११ ले तीन महिने कम्प्युटर बेसिक तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। वडाध्यक्ष प्रकाश थापाको अध्यक्षता तथा भीमदत्त नगरपालिकाकी कार्यवाहक नगर उपप्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच तालिमको समापन गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि निलम लेखक जोशीले सूचना प्रविधिको युगमा कम्प्युटर सीप प्रत्येक नागरिकका लागि आवश्यक भएको बताउँदै यस्ता सीपमूलक तालिमले युवाहरूलाई रोजगारी तथा स्वरोजगारतर्फ अघि बढ्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा वडा अध्यक्ष प्रकाश थापाले वडावासी युवायुवतीलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले कम्प्युटर बेसिक तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि आवश्यकता अनुसार विभिन्न सीपमूलक तथा आयआर्जनमूलक तालिमहरू सञ्चालन गरिने जानकारी दिनुभयो।

तीन महिनासम्म सञ्चालन भएको उक्त तालिममा सहभागीहरूले कम्प्युटरको आधारभूत ज्ञान, एमएस अफिस, इन्टरनेटको प्रयोग तथा डिजिटल सेवासम्बन्धी व्यावहारिक सीप हासिल गरेका छन्। कार्यक्रमको अन्त्यमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो।

सम्बन्धित

Comments are closed.