महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको उदाहरण प्रस्तुत

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित महाकाली मोडर्न पब्लिक स्कुलमा अध्ययनरत कक्षा ११ की छात्रा मनिषा चैसिरले इमान्दारिताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी छन्।
जेसिस विद्यालय नजिक राजीपुर जाने बाटोमा खसेको मोबाइल फोन फेला पारेपछि उनले उक्त मोबाइल आफूसँग नराखी विद्यालय प्रशासनमा जिम्मा बुझाएकी थिइन्।
विद्यालय प्रशासनले आवश्यक खोजतलास गर्दा उक्त मोबाइल गैलनदी निवासी श्री पदम सिंह धामीको रहेको पुष्टि भएको थियो। त्यसपछि विद्यालयले मोबाइल सुरक्षित रूपमा सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जनाएको छ।

विद्यालय परिवारले छात्रा मनिषा चैसिरले देखाएको इमान्दारिता, नैतिकता र जिम्मेवारीपूर्ण व्यवहारको उच्च प्रशंसा गर्दै उनको कार्य अन्य विद्यार्थीका लागि समेत प्रेरणादायी रहेको जनाएको छ।

विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले विद्यालयले विद्यार्थीलाई केवल किताबी ज्ञान मात्र होइन, असल संस्कार, नैतिकता र सामाजिक उत्तरदायित्व पनि सिकाउने गरेको बताउनु भयो।

मनिषा चैसिरले हराएको मोबाइल सुरक्षित रूपमा विद्यालयमा बुझाएर जुन इमान्दारिता र जिम्मेवारीको परिचय दिएकी छन्, त्यसले हामी सबैलाई गर्व महसुस गराएको बताउनु भयो ।

यस्ता सकारात्मक कार्यले विद्यालयको गरिमा बढाउनुका साथै अन्य विद्यार्थीलाई पनि असल नागरिक बन्न प्रेरणा मिल्छ। मनिषाको उज्ज्वल भविष्यको कामना गर्दै यस्ता संस्कारयुक्त कार्य निरन्तर बढ्दै जाऊन् भन्ने हाम्रो अपेक्षा रहेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.