महेन्द्रनगर। इलाका प्रहरी कार्यालय दोधाराचाँदनीले भारतबाट चोरी गरी नेपाल ल्याइएका करिब ६२ लाख रुपैयाँभन्दा बढी मूल्यका सुन, हिरा तथा बहुमूल्य घडी प्रहरीले सार्वजनिक गरेको छ।
भारतको पंजावबाट असार ३२ गते दोधाराचाँदनी नगरपालिका ९ का लोकेश धामीको घरबाट बरामद गरिएका गरगहना तथा घडी सार्वजनिक गरेको हो। प्रहरीका अनुसार बरामद गरिएका गरगहनाको अनुमानित मूल्य ६२ लाख १६ हजार रुपैयाँ रहेको छ।
प्रहरीले बरामद गरिएका गरगहना भारतको पञ्जाबका साहिल धावनलाई जिम्मा लगाएको छ। धावनका अनुसार उनको घरमा काम गर्ने नेपाली नागरिकको संलग्नतामा गरगहना चोरी भएको थियो।
उनले लोकेश धामी र आशिष रोकायाको संलग्नतामा चोरी भएको बताउँदै धामीसँग रहेको गरगहना मात्र बरामद भएको बताए।
उनका अनुसार रोकायासँग रहेका गरगहना अझै बरामद हुन सकेका छैनन्। उनले बाँकी गरगहना पनि बरामद गरी सहयोग गरिदिन नेपाल प्रहरीसँग आग्रह गरेका छन्।
बरामद गरिएका गरगहनामा २ वटा कार्टियर लुकका सुनका बाला, गुलाबी फूल आकारको हिराको कुण्डल, पोल्की ब्रासलेट, गुलाबी र रातो हिराका स्टड, भ्यान क्लिफ कालो ब्रासलेट, हिराका विभिन्न कुण्डल, सुनको सेट, मार्किस कुण्डल, नीलो पोल्की सेट, सुन तथा हरियो पन्ना इमरल्ड सेट, हेरिटेज अँगुठी, पोल्की स्टड्स र पहेँलो ढुङ्गाको अँगुठीलगायतका बहुमूल्य गरगहना रहेका छन्।
यसैगरी, कुन्दन टप्स, हिराको ओभल अँगुठी, नवरत्न कुण्डल, सेतो सुनको सिक्री, गुलाबी पोल्की कुण्डल, हिरा तथा मोतीका कुण्डल, मोजोनाइट कुण्डल, नीलो हिराका स्टड्स, नीलो कुन्दन मल्टि(स्टोन कुण्डल, स्टोनर, कफलिङ तथा डायमण्ड ब्यान्ड अँगुठी पनि बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएका बहुमूल्य घडीहरूमा हुब्लोट, गुच्ची, मोभाडो, एमके, भल्गारी तथा महिलाका मोभाडो ब्रान्डका घडी रहेका छन्।
Comments are closed.