संजीवनी नेपालको प्रथम महिला सम्मेलन तथा भेला कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा सन्जिवनी नेपालले प्रथम महिला सम्मेलन तथा भेला कार्यक्रम सम्पन्न गरेको छ । सन्जिवनी नेपालद्वारा गठित सुदूरपश्चिम पैरवी महिला सञ्जालको प्रथम महिला सम्मेलन तथा भेला कार्यक्रम सम्पन्न भएको हो। संस्थाका कार्यकारी निर्देशक नितु भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास राज्यमन्त्री मधु भारती प्रमुख अतिथि रहनुभएको थियो।

यस्तै, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहरा र नगर उपप्रमुख निलम लेखक जोशी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, महिला अधिकारकर्मी ,सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिहरू भीमदत्त नगरपालिकाको १९ वटै वडामा गठन गरीएका महिला संजालको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भारतीले महिलाको नेतृत्व विकास, अधिकार सुनिश्चितता तथा सामाजिक रुपान्तरणका लागि महिलाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।उहाँले महिलाका समस्या र सवाललाई स्थानीय तहसम्म प्रभावकारी रूपमा उठाउन पैरवी महिला सञ्जालले महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्नुभयो। उहाँले महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा सशक्त बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउँदै महिला अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थासँग स्थानीय सरकार सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो।

संस्थाका कार्यकार निर्देशक नितु भट्टले कञ्चनपुर जिल्लाका महिलाहरूले भोगिरहेका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा लैङ्गिक विभेद र हिंसासम्बन्धी सवाल, चुनौती तथा अवसरहरूको पहिचान गरी महिला सशक्तीकरण, समान सहभागिता, अधिकार सुनिश्चितता र दिगो विकासका लागि साझा धारणा, प्राथमिकता तथा कार्ययोजना निर्माण गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको बताउनु भयो ।

साथै उहाँले, कञ्चनपुर जिल्लाका महिलाहरूका प्रमुख सवाल, समस्या तथा चुनौतीहरूको पहिचान र विश्लेषण गरी महिलामाथि हुने लैङ्गिक विभेद, घरेलु तथा लैङ्गिक हिंसा, बालविवाह, सामाजिक कुरीति तथा असमानताका अवस्थाबारे छलफल गरी न्यूनीकरणका उपाय पहिचान विशिष्ट उदेश्य रहेको बताउनु भयो ।

कार्यक्रममा सन्जिवनी नेपालको विगतका गतिविधि, उपलब्धि तथा आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो।

साथै, सुदूरपश्चिम पैरवी महिला सञ्जाललाई थप सशक्त बनाउँदै महिलाका साझा सवालमा प्रभावकारी पैरवी गर्ने विषयमा सहभागीहरूले जोड दिएका थिए। कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

सम्बन्धित

Comments are closed.