महेन्द्रनगर । कञ्चनपुरमा महेन्द्रनगर साइकलिङ क्लबको आयोजनामा साइकल राइड कार्यक्रम सम्पन्न भएको छ। नेपाली मौलिक संस्कृति र परम्पराको महान् पर्व गौरा पर्वलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको हो। गौरा पर्वको अवसरमा बाढीबाट प्रभावित परिवारलाई अनलाइनमार्फत सहयोग रकम जुटाउन जनचेतना फैलाउने तथा ‘साइकल चलाऔँ, स्वस्थ रहौँ’ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले साइकल राइड आयोजना गरिएको आयोजकले जनाएको छ।

महेन्द्रनगरको जिल्ला प्रहरी कार्यालय जिप्रका रोडबाट सुरु भएको साइकल राइड पर्यटन मार्ग हुँदै सुख्खा बन्दरगाहसम्म पुगेर सम्पन्न भएको थियो। करिब ६० किलोमिटर दूरीको राइडमा ६५ जनाको सहभागिता रहेको महेन्द्रनगर साइकलिङ क्लबका संयोजक हेमु भट्टले जानकारी दिनुभयो।
संयोजक भट्टका अनुसार साइकल राइडमार्फत स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै विपद्मा परेका परिवारलाई सहयोग गर्न सामाजिक अभियानमा जोडिने सन्देशसमेत प्रवाह गरिएको हो। गौरा पर्वको मौलिकता र सामाजिक एकताको भावना उजागर गर्दै कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।
Comments are closed.