महेन्द्रनगर । कञ्चनपुरमा रहेको सामाजिक संस्था स्विट नेपालले महिलाहरूलाई समूहमा आधारित बचत तथा ऋण व्यवस्थापनसम्बन्धी दुईदिने तालिम प्रदान गरेको छ । महिला सशक्तीकरण र बाल अधिकार संरक्षण परियोजनाअन्तर्गत वेदकोट नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र १० का विभिन्न महिला समूहमा आबद्ध महिलाहरूलाई लक्षित गरी तालिम आयोजना गरिएको हो ।

परियोजनाअन्तर्गत गठन तथा परिचालन भइरहेका ६० वटा समूहबाट छनोट गरिएका ४० जना अभिलेखकर्तालाई तालिम प्रदान गरिएको स्विट नेपालले जनाएको छ । तालिममा समूहको बचत तथा ऋण व्यवस्थापन, आर्थिक कारोबारको अभिलेख राख्ने तरिका र समूहलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा जानकारी प्रदान गरिएको छ ।

महिलाहरूलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउँदै बालबालिकाको हकअधिकार संरक्षण गर्ने उद्देश्यले परियोजना सञ्चालन भइरहेको कार्यक्रम प्रबन्धक अमित सुनारले जानकारी दिनुभयो ।
उहाँका अनुसार महिलाहरूलाई समूहमा आबद्ध गराई बचत तथा ऋणसम्बन्धी गतिविधिमा सक्रिय बनाउनुका साथै बाल अधिकार संरक्षणका विषयमा समेत सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।
महिला समूहमा आबद्ध महिलाहरूले आफूले सिकेका ज्ञान, सीप र अनुभव अन्य महिलाहरूसँग समेत आदानप्रदान गर्दै समुदायमा सचेतना फैलाउने अपेक्षा गरिएको छ ।
यसले महिलाहरूको नेतृत्व क्षमता विकास, आर्थिक व्यवस्थापनमा आत्मनिर्भरता तथा बालबालिकाको अधिकार संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
Comments are closed.