सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने भएको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी मंसिर २० गते सम्मेलन हुने जानकारी दिइएको हो । प्रदेशमा वित्तीय साक्षारताको अवस्था, वित्तीय पहुँचका लागि प्रदेश सरकारले गर्नुपर्ने काम, संघीय सरकारले चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल गर्न सम्मेलन आयोजना गर्न लागिएको आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले बताउनु भयो ।
मन्त्री बोहराले वित्तिय पहुँचको सुनिश्चितता गर्ने, स–सानो बचत परिचालन गरी पूजी निर्माण गर्ने, सम्भाव्य परियोजनामा कर्जा लगानी अभिवृद्धि गर्ने, प्रदेशवासीलाई आधुनिक बैकिङ्ग प्रणालीमा आवद्ध गर्ने र वित्तिय पहुँचको माध्यमबाट आर्थिक विकास गरी प्रदेशलाई समृद्धिको दिशामा अघि बढाउने सम्मेलनको उदेश्य रहेको बताउनु भयो ।
सम्मेलनमा प्रमुख वक्ताको रूपमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नु हुनेछ । यस्तै, संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पर्यटन मन्त्री योगेश भट्टराई लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा विश्व बैंक, अन्तराष्ट्रिय मुद्राकोष, एशियाली विकास बैंक जस्ता अन्तर्रा्ष्ट्रिय संस्थाहरूका प्रतिनिधिको पनि सहभागिता हुने आर्थिक मामिला तथा योजनामन्त्री बोहराले बताउनु भयो । यस्तै नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्डजस्ता नियामक निकायका प्रमुखहरू पनि सम्मेलनमा सहभागी हुने उहाको भनाइ छ ।
सम्मेलनमा सबै बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, बीमा कम्पनी, लघुवित्त संस्था, नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, फाइनान्स कम्पनी एसोसिएसन, लघुवित्त बैंकर्स संघका अध्यक्ष पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।
वित्तिय पहुचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता भन्ने मुल नारा रहेको वित्तिय सम्मेलनमा मुख्यमन्त्री, मन्त्रीगण, उच्च पदस्थ सरकारी अधिकारी, विज्ञ, दातृ निकाय, वित्तिय क्षेत्रका प्रनिनिधि गरि ४ सय ५० जनाको सहभागिता रहने बताइएको छ ।
Comments are closed.