निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सक्रियताको आधारमा साना दललाई पनि दलीय चुनाव चिह्न दिने
निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सक्रियताको आधारमा साना दललाई पनि दलीय चुनाव चिह्न दिने भएको छ । अहिलेसम्म राष्ट्रिय दलको मान्यता पाएका पार्टीका उम्मेदवारलाई मात्रै दलीय चुनाव चिह्न दिने र अरू साना दलका उम्मेदवारले स्वतन्त्र चिह्न लिएर चुनाव लड्नुपर्ने व्यवस्था रहेकोमा निर्वाचन आयोगले सर्तसहित दलीय चुनाव चिह्न दिने भएको हो । दलीय चुनाव चिन्ह पाउनका लागि साना दलले आफ्नो सङ्गठन र क्रियाशिलता रहेको विवरण पेस गर्नुपर्नेछ । आफ्नो दलको कुन–कुन जिल्लामा जिल्लास्तरको सङ्गठनात्मक संरचना रहेको छ, त्यो विवरण तयार गरी दलको केन्द्रीय पदाधिकारीले प्रमाणित गरेर यही चैत ६ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न आयोगले समय दिएको छ । दलको जिल्ला समितिबाट पेस भएको विवरण जाँच–बुझ र अभिलेख राखी सम्बन्धित निर्वाचन कार्यलयहरूले चैत ७ गतेभित्र निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ ।
दलको जिल्ला सङ्गठन सक्रिय रहेको जिल्लामा मात्रै मान्य हुने गरी निर्वाचन आयोगले मतपत्रमा दलीय चुनाव चिह्न दिने निर्णय गरेको छ । आयोगले तोके बमोजिमको विवरण पेस नगर्ने राजनीतिक दलको उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न नै प्रदान गर्ने आयोगले जनाएको छ । कुल मतको तीन प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने कानुनअनुसार अहिले नेपालमा ६ वटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन् । निर्वाचन आयोगको आज बुधवारको निर्णयअनुसार अब साना दलका उम्मेदवारले पनि जिल्ला सङ्गठन र सक्रियताका आधारमा दलीय चुनाव चिह्न पाउने भएका छन् ।
Comments are closed.