पछिल्लो समय बैतडीमा भ्रष्टाचारम्बन्धी उजुरी बढेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार बैतडीमा भ्रष्टाचारका उजुरी बढेका हुन् ।
कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशका सबै ९ जिल्लाहरूमध्ये बैतडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका उजुरी पर्नेमा तेस्रोमा रहेको छ । स्थानीय तहका भ्रष्टाचारसम्बन्धी धेरै उजुरी पर्ने जिल्लामा कैलाली र कञ्चनपुरपछि बैतडी रहेको कार्यालयका प्रमुख बाबुराम खतिवडाले बताउनु भयो ।
बैतडीमा गत वर्षभन्दा चालू वर्षमा उजुरी बढेको पाइएको छ । स्थानीय तहमा भएका आर्थिक अनियमितता, दुरुपयोग लगायत उजुरीको चाप बढ्दै गएको हो । चालू आर्थिक वर्ष २०७६र०७७ को पुस मसान्तसम्म ४० उजुरी दर्ता भएका छन् ।
गत आर्थिक वर्ष २०७५र०७६ को सो अवधीमा २९ उजुरी मात्रै दर्ता भएका थिए । चालू वर्षमा परेका उजुरीमध्ये हालसम्म १६ उजुरी फर्छ्यौट भएका प्रमुख खतिवडाले बताउनु भयो । यस्तै गतवर्ष ९६ वटा उजुरी परेकोमा ३० उजुरी फर्छ्यौट भएका थिए ।
स्थानीय तहबाहेक जिल्लाका अन्य सरकारी कार्यालयले गरेका भ्रष्टाचारका उजुरी पर्ने क्रम बढ्दो छ । स्थानीय तहले सञ्चालन गरेका विकास निर्माणसम्बन्धी आयोजनामा भएको हिनामिनाको उजुरी सबैभन्दा बढी पर्ने गरेको कार्यालयले जनाएको छ ।
अख्तियारले पछिल्लो समय सक्रियता देखाएसँगै उजुरी बढेको कार्यालयको दाबी छ । साथै कार्यालयकोे सक्रियताले रंगेहात पक्राउ समेत पर्ने गरेका छन् ।