डडेल्धुरा अस्पतालको न्यूनतम सेवा मापदण्ड ३० प्रतिशत मात्रै

डडेल्धुरा अस्पतालको न्यूनतम सेवा मापदण्ड ३० प्रतिशत मात्रै रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विशेषज्ञ टोलीले ३ दिन लगाएर गरेको सूक्ष्म अध्ययनले विभिन्न सेवाहरूको प्रवाहको आधारमा उक्त नतिजा निकालेको हो ।

डडेल्धुरा अस्पताललाई रेफरल अस्पताल अथवा वीर अस्पताल सरह राखेर अध्ययन गरिएको हो ।

सरकारले अहिले देशभरका अस्पतालहरूलाई ३ स्तरमा राखेर न्यूनतम सेवा मापदण्ड निर्धारण गर्ने कार्यक्रम अन्तर्गत डडेल्धुरामा पनि गरिएको अध्ययन टोलीका सदस्य तथा परिवार स्वास्थ्य महाशाखा निर्देशक भीमसिंह टिंकरीले जानकारी दिनु भयो ।

अस्पालतमा देशमै नभएका उपचार सेवाहरू भएपनि सञ्चालनमा नरहेको, सूचना अधिकृत नभएको, इमर्जेन्सी कोठा व्यवस्थापन, समाजिक परिक्षण नगर्ने गरेको, फोहरमैला व्यवस्थापन उचित नभएको, कर्मचारीमा उत्पेरणा लिने खालको कार्यक्रम नरहेको, अस्पतालको फार्मेसीमा औषधि पर्याप्त नभएको, स्वास्थ्यकर्मी तथा कर्मचारीले तोकिएको पोसाक तथा आइकार्ड नलगाउने गरेको पाइएको जनाएको छ ।

चिकित्सक अभावमा डडेल्धुरा अस्पतालको ओपीडी सेवा १७ प्रतिशत मात्र छ भने राम्रा अंक शुद्ध खानेपानीमा ७५ प्रतिशत र लेखा व्यवस्थापनमा सत प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अहिले डडेल्धुरा अस्पतालमा विस्तारै चिकित्सक अभाव पनि हट्दै गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिनु भयो ।

अस्पतालमो न्यूतम सेवा मापदण्ड कम हुनको मुख्य कारण दक्ष जनशक्ति अभाव र विशेषज्ञ डाक्टर अभाव नै रहेको अध्ययन टोलीको निष्कर्ष छ । मन्त्रालयको टोलीले अस्पतालको प्रतिवेदन मन्त्रालयमा प्रस्तुतीकरण गर्ने र छिटै डाक्टर पठाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । डडेल्धुरा अस्पतालले विगत लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक पाएको छैन ।

अस्पतालले ११ औं तहको मेडिकल सुपरिटेण्डेन्ट समेत पाएको छैन । तत्कालीन जिल्ला अस्पताल व्यवस्थापन समिति भंग भएपछि हालसम्म उपक्षेत्रीय अस्पताल तथा हालको विशेषज्ञ अस्पतालको विकास समिति समेत गठन हुन सकेको छैन । २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले छात्रवृति करारबाट एकजना र अस्पताल विकास समितिबाट दुईजना गरी करारमा तीनजना विशेषज्ञ चिकित्सक छन् ।

त्यस्तै १९ जना मेडिकल अफिसरको दरबन्दी रहेको अस्पतालमा नौ जना चिकित्सक रहेपनि पाँच जना अध्ययन बिदामा रहेका छन् । चार जना मात्र अस्पतालमा कार्यरत छन् । स्वास्थ्य मन्त्रालयले पठाएका ११ जना स्थायी र तीन जना करार गरी १४ जना चिकित्सकमध्ये तीन जना मात्र डडेल्धुरा अस्पतालमा पुगेका छन् ।

बाँकी ११ जना भने अहिलेसम्म अस्पतालमा पुगेका छैनन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.