महेन्द्रनगर । बढेको तलब नपाएको भन्दै आन्दोलित भएका नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत बालविकास सहजकर्ताहरुले बैतडीको दशरथचन्द नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेका छन् ।
गएको वर्ष बढेको तलब नपाएकोमा यो वर्ष पनि नगरपालिकाले तलब दिन आनाकानी गरेपछि तालाबन्दी गरेको बालविकास सहजकर्ता मञ्जु भट्टले बताइन् । माग पूरा नभएसम्म तालाबन्दी नखुल्ने उनीहरुले चेतावनी दिएका छन् । गत वर्ष नै नगरपालिकाले संघीय सरकारले दिएको तलबमा ७ हजार थप गर्ने निर्णय गरेको भएपनि अहिलेको नगर सरकारले त्यो सुविधा समेत कटौती गरेकोले आन्दोलन गरिएको अर्की बालविकास सहजकर्ता भागरथी भण्डारीले बताइन् ।
बैतडीको दशरथचन्द नगरपालिकाभित्र ७१ जना बालविकास सहजकर्ता रहेका छन् । आफूहरुका मागका विषयमा नगर सरकारले सुन्नै नचाहेको बालविकास सहजकर्ताहरुले बताएका छन्। माग पूरा नभए आइतबार नगरपालिकामा समेत तालाबन्दी गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

शुक्लाफाँटा खबर
5683 posts
Comments are closed.