मतदाताले पत्याएनन यी उम्मेदवारलाई

महेन्द्रनगर । मंसिर ४ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधी सभा संसदीय निर्वाचनमा सुदूरपश्चिमबाट राजनितीमा प्रखर रहेका नेता तथा मन्त्री र निवर्तमान सांसद तथा पूर्व पालिका प्रमुखहरुलाई मतदाताले नपत्याए पछि हार बेहोर्नु परेको छ । आफनो जिवन राजनितीमा खर्च गरेका अग्रज नेता तथा कार्यकर्ताहरुलाई मतदाताले विस्वास नगरेको पाईएको हो । प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री डाक्टर रणबहादुर रावल कैलाली निर्वाचन क्षेत्र नम्बर १ को (२) मा पराजित भएका छन् ।

मन्त्री रावललाई नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले ११ हजार ३ सय १८ मत ल्याएका थिए भने, रावलले ८०५३ मत ल्याएका थिए । यस्तै प्रदेश सरकारमा सामाजिक विकास मन्त्री रहेका काँग्रेस नेता गोविन्दराज बोहरा डडेल्धुराको प्रदेश (२) बाट १० हजार ७ सय ३७ मत ल्याएका उनी स्वतन्त्र उम्मेदवार डाक्टर ताराप्रसाद जोशीसंग पराजित हुनु पय्रो । जोशीले ११ हजार १ सय ६२ मत ल्याएका थिए । यस्तै, प्रदेश सरकारका पूर्व मन्त्री लालबहादुर खड्का कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ को (२) नेपाली काँग्रेसका बहादुरसिंह थापासँग पराजित भएका छन् । खडकाले ४ हजार ४ सय ३ मत पाए भने थापाले १० हजार ६ सय ६८ मत पाए ।

यस्तै, प्रदेशका पूर्व राज्य मन्त्री अमर साउँद कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को (२) मा नागरिक उन्मुक्ति पार्टीका खुशीराम डगौरा थारूसंग पराजित भएका छन् । साउँदले ६६१९ मत पाउँदा खुशीरामले ७५३९ मत ल्याएका थिए । यसैगरी, पूर्व मन्त्री पठानसिंह बोहरा डडेल्धुरा प्रदेश (१) मा उम्मेदवार रहेका उनलार्ई नेकपा माओवादी केन्द्रका खगराज भट्टले पराजित गरे । बोहराको ९१९५ मत थियो भने, भट्टले १२११२ मत पाए । यस्तै झपट बोहरा अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा समाजवादीका शेरबहादुर कुँवरसँग पराजित भएका हुन् ।

बोहराले १५०४५ मत पाए भने, कुँवरले १९५३४ मत ल्याएका थिए । यसैगरी, २०७४ मा बैतडीको सुर्नया गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका काँग्रेस नेता वीरबहादुर विष्टलाई बैतडी प्रदेश (१) मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर पालले पराजित गरेका छन् । बिष्टले १०९५३ मत पाए भने, पालले १२८३१ मत ल्याएका छन् । कञ्चनपुरको भीमदत्त नगरपामलिकाका पूर्व नगर प्रमुख सुरेन्द्र विष्टलाई कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को (२) बाट गठबन्धनका उम्मेदवार काँग्रेस नेता बेलबहादुर राना मगरले पराजित गरेका छन् । बिष्टले १०५४८ मत ल्याएका थिए भने, मगरले १६१५२ मत ल्याउका थिए ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व मन्त्री रामजनम चौधरी र ३ नम्बर क्षेत्रमा उम्मेदवार रहेका पूर्व मन्त्री गौरीशंकर चौधरी पनि पराजित भएका छन् । चौधरी द्वयलाई नागरिक उन्मुक्तिका उम्मेदवारहरूले पराजय गरेका छन् । दार्चुलाबाट पूर्व मन्त्री गणेशसिंह ठगुन्नाले पनि चुनाव जित्न सकेनन् । बैतडीमा पूर्व प्रदेश सभा सदस्य लिलाधर भट्ट पराजित भएका छन् भने कैलाली १ (१) मा उम्मेदवार रहेका पूर्व प्रदेश सभा सदस्य कृष्णबहादुर चौधरीको पनि पराजय भएको छ ।

सम्बन्धित

Comments are closed.