कैलालीको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर ओडले डिभिजन बन कार्यालय कैलालीले नगरमा हुने विकास निर्माणका काममा अवरोध गरेको आरोप लगाउनु भएको छ ।
उप–महानगरपालिका वडा नं १२ मा रहेको सिद्धनाथ सामुदायीक बनको १६ औं बार्षिक साधारण सभामा बोल्दै उहाले यस्तो आरोप लगाउनु भएको हो ।
बिच सडकमा पर्ने सुकेको रुख हटाउन नदिईरहेको बताउदै नगरप्रमुख ओडले डिभिजन बन कार्यालयले उपभोक्ताहरुले दुःख गरेर संरक्षण गरेको जंगललाई भने विभिन्न कार्यक्रमका नाममा फडानी गरिरहेको बताउनु भयो ।
सडकको बिचमा पर्ने रुख हटाउन नसक्दा दैनिक जसो दुर्घटना भैरहेका बताउदै नगरप्रमुख ओडले तर वैज्ञानीक बनका नाममा घना जंगल सखाप बनाईदै गएको बताउनु भयो ।
नगरप्रमुख ओडले डिभिजन बन कार्यालयले जनताले संरक्षण गरेर राखेको बन सखाप नै गरेर बन गिरोहलाई बेच्दा केहि नहुने तर स्थानीयको आवश्यकताका आधारमा कतै पूर्वाधार बनाउँदा डिभिजन बन कार्यालय काम रोक्ने गरेको उहाले बताउनु भयो ।
डिभिजन बन कार्यालयको रबैयाका बिरुद्ध आफु कडा रुपमा प्रस्तुत हुनुपर्ने बेला आएको नगरप्रमुख ओडले बताउनु भयो । कसैको निर्देशन नगरको विकासमा अवरोध गरेमा त्यसको प्रतिकार नगरवासीले नै गर्ने नगरप्रमुख ओडले बताउनु भयो ।
डिभिजन बन कार्यालय कैलालीका प्रमुखसंग पटक पटक समन्वय गर्न खोज्दा पनि पन्छिएको नगरप्रमुख ओडको आरोप थियो ।