विश्वकप फुटबलको फाइनल खेल आज

महेन्द्रनगर । फिफा विश्वकप–२०२२ को फाइनल खेल आइतबार हुँदैछ । राति पौने ९ बजे कतारको अल दायनस्थित लुसैल स्टेडियममा सुरु हुने खेलमा अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दैछन् । क्रोएसियालाई हराएर अर्जेन्टिना र मोरक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेका हुन्। पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो ।

दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो।समूह चरणको पहिलो खेलमा साउदी अरेबीयासँग अर्जेन्टिना २–१ पराजित भयो। त्यसबेला अर्जेन्टिना फाइनलमा पुग्नेमा धेरैलाई आशंका थियो। तर बाँकी खेलमा लोभलाग्दो प्रदर्शन गर्दै अर्जेन्टिना पाचौं पटक फाइनल खेल्दैछ । दक्षिण अमेरिकी च्याम्पियन टोली अब एक खेलमा जित निकाले ३६ वर्षपछि विश्व च्याम्पियन बन्ने पक्का छ ।

नेदरल्यान्डलाई पराजित गर्दै सन् १९७८ मा पहिलो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा पश्चिम जर्मनीलाई हराउँदै दोस्रो उपाधि जितेको थियो । सन् १९९० मा विश्वकपको फाइनल पुगे पनि पश्चिम जर्मनीसँग पराजित भएपछि अर्जेन्टिना तेस्रो उपाधि भित्र्याउन भने असफल भयो ।

डिएगो म्याराडोनाको उत्कृष्ट प्रदर्शनमा दोस्रो पटक उपाधि जित्दा अर्जेन्टिनाले जम्मा १२ गोल गरेको थियो । त्यसको २४ वर्षपछि लियोनल मेस्सीको आडमा अर्जेन्टिनाले सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा स्थान बनायो। यस संस्करण पनि तगारो जर्मनी नै बन्यो । अतिरिक्त समयमा मारियो गोट्जेले गोल गरेपछि अर्जेन्टिना स्तब्ध बन्यो । उपविजेतामा चित्त बुझाएर घर फर्कियो । तेस्रो उपाधिको सपना पूरा भएन ।

सन् २०१८ मा प्रि–क्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि अर्जेन्टिना विश्वकप यात्राबाट बाहिरिएको थियो । त्यसको चार वर्षपछि अर्जेन्टिना साविक विजेता फ्रान्ससँग पुरानो बदला लिदै विश्वकप जित्ने योजनामा छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.