मेलौली नगरपालिकामा तालाबन्दी गरिएको एक हप्ता पूरा

महेन्द्रनगर । आधारभूत अस्पताल निर्माणको बिषयलाई लिएर बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी गरिएको एक हप्ता पूरा भइसक्दा समेत ताला अझै खुल्न सकेको छैन् । आधारभूत अस्पताल निर्माणको बिषयलाई लिएर वडा नं ७ का स्थानीयहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै ठाउँमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग गर्दै तालाबन्दी गरिएको हो । मागका सम्बन्धमा कुनै सुनुवाई नभएपछि तालाबन्दी जारी रहेको आन्दोलनरत पक्षले जनाएको छ । यता वडा नं १ का स्थानीयहरुले पनि वडा नं १ को बिट्ठेनीमा आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग गर्दै आएका छन् ।

अस्पताल निर्माणका लागि दुवै ठाउँमा जग्गा भएकाले २०७० सालदेखि विवाद रहँदै आएको छ ।अस्पताल निर्माणकै बिषयमा गएको बिहीबार दुवै पक्षबीच झडप हुँदा ३५ जना घाइते भएका थिए । घाइते मध्ये केही जनाको धनगढीमा उपचार भइरहेको छ । मेलौलीमा दुई पक्षबीच थप झडप हुन सक्ने देखिएपछि बिहीबारदेखि नै प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा त्यहाँ प्रहरी परिचालन गरिएको छ ।

मेलौली नगरपालिकाका प्रमुख र उपप्रमुख भने काठमाण्डौंमा रहेका छन् । नेपाल नगरपालिका संघको अधिवेशनमा सहभागी हुन गएका प्रमुख र उपप्रमुख अहिले सम्म नफर्केका भन्दै आलोचना समेत भइरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.