सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा परी ५ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । कञ्चनपुरमा २ जना, दार्चुलामा २ जना र बैतडीमा १ जना गरी ५ जनाको मृत्यु भएको हो । कञ्चनपुरमा ट्रकसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–५ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज नजिक सडकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

ना.५ ख ९७३२ नम्बरको ट्रकमा सुदूरपश्चिम प्रदेश ०२००३ प ४४८२ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक बेदकोट नगरपालिका–३ का ३६ वर्षीय कमलावती पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर भएका कमलावतीको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, कञ्चनपुरमा पोखरीमा डुबेर बैतडीकी एक किशोरीको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १ का हरिश टेरकी १४ वर्षीया छोरी बविता टेरको पोखरीमा डुबेर मृत्यु भएको हो । मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्यायनरत बविता परीक्षा दिएर विदामा कञ्चनपुर आएकी थिइन् । कञ्चनपुर प्रहरीका अनुसार जिल्लाको अमर बस्ती आएकी उनी पोखरीमा डुबेर घाइते भएकी हुन् ।

उनी पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर भएकी थिइन् । उनको धनगढीको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार हुँदै थियो । उपचारकै क्रममा शनिवार राति १० बजे उनको मृत्यु भएको हो । उता, बैतडीमा एक युवकको हत्या गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो । बैतडी प्रहरीका अनुसार शनिवार राति ८ बजे उनी हत्या गरिएको अवस्थामा फेला परेका थिए ।

जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको हो । उनका हत्यारा फरार भएका छन् । घटनाबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ । यस्तै, दार्चुलामा बिसु मेला हेरेर घर फर्किने बेला भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका –१ घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मार्मा गाउँपालिका –१ घोल्जर पाखु बस्ने वर्ष ५१ कि कुटुमा देवी ठगुन्ना र उनकी नातनी दुई वर्षीया सोनिया धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी ज्ञानेन्द्र सिंहले बताए ।

शुक्रबार राति बिसु जात्राबाट घर फर्किने क्रममा भिरबाट लडेर बेपत्ता रहेका दुवै जनाको शव शनिबार दिउँसो सुङगर भिरमा भेटिएको प्रहरी निरीक्षक सिंहले जानकारि दिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.