सुदूरपश्चिम प्रदेशको उत्कृष्ट अस्पताल डोटी जिल्ला

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा रहेको जिल्ला अस्पताल प्रदेशभरीकै उत्कृष्ट अस्पताल घोषित भएको छ ।

प्रदेशभरीमा रहेका अस्पतालमध्ये जिल्ला अस्पताल डोटीले विभिन्न सूचकाङ्कलाई आधार मानी कुल ७७ प्रतिशत अङ्क प्राप्त गरी उत्कृष्ट अस्पतालका रुपमा घोषित भएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल रापजुरका मेडिकल अधिकृत डा. भूषण मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा न्यूनतम सेवा गुणस्तर मापदण्ड मापनमा दिइने ३५० अंकमा प्रदेशभरी रहेका जिल्ला अस्पताल तथा जिल्लास्तरका प्राथमिक अस्पतालमध्ये डोटी अस्पतालले ७७ प्रतिशत अंक ल्याएर पहिलो भएको छ ।’

सुदूरपश्चिममा ६ महिना पहिले गरिएको गुणस्तरीय सेवा मापदण्ड फलोअपमा डोटी अस्पताल प्रदेशकै उत्कृष्ट भएको थियो । सरकारबाट अस्पतालहरूले न्यूनतम रूपमा प्रदान गर्नुपर्ने सेवाको अवस्थाबारे हरेक ६/६ महिनामा मापन हुने गर्छ ।

सुशासन तथा व्यवस्थापन, उपचार सेवा र  अस्पतालका सहयोगी संयन्त्र गरी मुख्य तीन सूचकमा ७६९ सूचक निर्धारण गरी अस्पतालको सेवाको गुणस्तर मापन गरिएको क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका मेडिकल अधिकृत डा. मिश्रले जानकारी दिनुभयो ।

यसैगरी अछाम जिल्ला अस्पताल ७१ प्रतिशत अंक प्राप्त गर्दै दोस्रो स्थानमा पर्न सफल भएको छ । डोटी ७७, अछाम ७१, बझाङ ७०, दार्चुला ७०, बैतडी ६५ तथा बाजुराले ५५ प्रतिशत अंङ्क प्राप्त गरेको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

सम्बन्धित

Comments are closed.