आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवान्यूगिनीलाई हरायो

महेन्द्रनगर । नेपालले पपुवान्युगिनीलाई ५२ रनले हराएको छ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले दिएको २९८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पपुवान्युगिनीले ४७ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्र बनाउन सक्यो। उसका लागि टोनी उरा र नोर्मान भानुआले अर्धसतक बनाए ।

भानुआले सर्वाधिक ६० रन बनाउँदा उराले ५० रन बनाए । कप्तान असाद भालाले ४२ रन बनाउँदा किपलिन डोरिगाले २६ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ तथा कुशल मल्लले १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हालेर पहिले ब्याटिङ गरेको नेपालले ५ बल खेल्न बाँकी हुँदा २९७ रन बनाएको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालको उच्च स्कोर २८७ रन थियो ।

नेपालले फागुन पहिलो साता त्रिवि मैदानमै नामिबियाविरुद्ध २८७ रन बनाएको थियो। २ विकेटको जित हात पारेको नेपालले लक्ष्य पछ्याउने क्रममा सो रन बनाएको थियो। तर पहिलो पटक नेपालले पहिले ब्याटिङ गर्दै २९७ रन बनाएको हो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान आशिफ शेखले शतक प्रहार गरे। उनले ११० रन बनाउने क्रममा १२ चौका र २ छक्का प्रहार गर्दै ११० बल खेले। उनको यो पहिलो एकदिवसीय शतक हो ।

खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ११० को सतकीय साझेदारी गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेल अर्धसतक बनाउन ५ रनले चुकेका थिए। उनी १८.४ ओभरमा ५६ बल खेल्दै ६ चौका प्रहार गरे । नेपालले बाँकी ३० रन बनाउँदा थप दुई विकेट गुमाएको थियो । कुशल मल्ल २१ ओभरको अन्तिम बलमा २ रनमै आउट हुँदा ज्ञानेन्द्र मल्ल २५ ओभरको अन्तिम बलमा ११ रन बनाएर आउट भए । कप्तान रोहित पौडेलले ३० रन जोड्दा दिपेन्द्रसिंह ऐरीले ७ रनको योगदान दिए ।

आरिफ शेख १३ बलमा १५ रन बनाएर आउट हुँदा करण केसी ६ बलमा ८ रन जोडेर आउट भए भने सन्दीप लामिछानेले ७ रन बनाए । भीम सार्कीले ३८ बलमा आक्रमक ब्याटिङ गर्दै ४४ रन बनाए भने सोमपाल कामी ४ रनमा नटआउट रहे । बलिङमा पिएनजीका सेमो कामियाले सर्वाधिक ५ विकेट लिए। उनले ९.१ ओभरमा ३८ रन खर्चिए । रेली हेकुरेले १० ओभरमा ५० रन खर्चिएर ३ विकेट लिए । नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तित सिरिज हो ।

यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये दुई खेल जिते नेपालको लिग-२ बाटै एकदिवसीय मान्यता जोगिनेछ। चारै खेलमा हात पारे नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ । सिरिजमा नेपालले अब फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ । लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन् । तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ । पाँचौ स्थानको नेपालले ३३ खेलबाट ३५ अंक जोडेको छ। युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। पुछारको ‍पिएनजीको ३३ खेलबाट ९ अंक छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.