कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि उच्च सतर्कता, सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउन थालेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै अस्पतालहरूमा छुटै उपचार कक्षको स्थापनाको लागि पत्राचार गरेको छ ।

नोवेल कोरोना भाइरससम्बन्धी रोकथाम, प्रतिकार्य तथा व्यवस्थापनका लागि नीतिगत निर्णय गरेर मन्त्रालयले पूर्व तयारी थालेको जनाएको छ ।

मन्त्रालयले अस्पतालहरूमा स्क्रिनिङ र सर्भिलेन्ससम्बन्धी व्यवस्था गर्न, उपचारका लागि छुट्टै कक्षको तयार गर्न, सुरक्षाका अन्य उपायहरू अपनाउन, प्रयोगशाला परीक्षणको व्यवस्था गर्न, सम्पर्क व्यक्ति र प्रतिकार्य टोलीको व्यवस्था गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले स्थानीय तहको उपप्रमुखरउपाध्यक्षको संयोजकत्वमा ‘नोवेल कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण समिति’ गठन गर्ने समेत सबै स्थानीय तहहरूमा पत्राचार गरेको छ ।

‘कोरोना भाइरस फैलन नदिन आफुहरु पूर्ण रूपमा लागिरहेका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताउनु भयो । मन्त्री सुवेदीले सबै अस्पतालहरूमा छुट्टै उपचार कक्षको स्थापना र स्थानीय तहमा समिति गठन गर्ने विषयमा पत्राचार गरेको समेत जानकारी दिनु भयो ।

सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा कक्ष निर्माण समेत भइसकेको छ । अन्य अस्पतालहरूमा पनि यसको तयारी भइरहेको र स्थानीय तहहरू पनि समिति गठन गर्ने प्रक्रियामा रहेका मन्त्री सुवेदीले बताउनु भयो । मन्त्रालयले सीमा क्षेत्रमा हेल्थ डेस्कको पनि स्थापना गरिसकेको उहाले जानकारी दिनु भयो ।

कैलालीको त्रिनगर र सत्ती, कञ्चनपुरको गड्डाचौकी र दार्चुलामा पनि हेल्थ डेस्क स्थापना गरिएको मन्त्री सुवेदीले बताउनु भयो । केही दिनभित्रै धनगढी विमानस्थलमा पनि हेल्थ डेस्क स्थापनाको तयारी भइरहेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताउनु भयो ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पनि आफूहरू पूर्ण तयार अवस्थामा रहेको बताउनु भयो । उहाले सीमा क्षेत्र र अस्पतालमा बढी सक्रियता देखाइएको बताउनु भयो ।

मन्त्रालयले महामारी व्यवस्थापन शीर्षकमा प्रत्येक जिल्लामा ५ लाख देखि २० लाखसम्म रकम पठाइसकेको उहाले जानकारी दिनु भयो । अधिकांश अस्पतालले कम्तीमा एउटा बेड र छुट्टै उपचार कक्ष निर्माणको तयारी गरिरहेको उहाले बताउनु भयो । अस्पतालहरूमा भाइरसको शङ्का लागे तत्काल प्रयोगशालामा पठाउन निर्देशन जारी गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताउनु भयो ।

सेती प्रादेशिक अस्पतालमा पनि कोरोना भाइरसको उपचार गर्न र परीक्षण गर्न छुट्टै कक्ष र टोली तयार गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताउनु भयो । प्रदेशको रेफरल अस्पताल भएका कारण पनि बढी सावधानी अपनाइएको उहाले बताउनु भयो ।

भारत र चीन दुबैसँग नाका जोडिएको हुँदा सुदूरपश्चिम प्रदेश पनि उच्च जोखिममा रहेको भन्ने खबर आइ रहेका बेला सुदुरपश्चिम प्रदेश सरकारले भने बलियो पूर्व तयारी गरेका कारण यसको सङ्क्रमण फैलन नदिने दाबी गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.