कञ्चनपुरको महाकाली नगरपालिकामा कर्मचारीहरुले गरेको पेन डाउन फिर्ता भएको छ । महाकाली नगरपालिकाका कर्मचारीहरुले हिजो आइतवारदेखि गरेको पेन डाउन आज सोमवार सरोकारवालाहरुसंगको छलफल पछि फिर्ता लिएका छन् ।
महाकाली नगरपालिकाका एक जना नगरवासी शंकर थापाको आत्महत्याका विषयमा यही फागुन ८ गतेका दिन नगरपालिकाको कार्यालयमा गरिएको तोडफोडका विषयमा कार्यपालिका र राजनीतिक दलहरुलाई जानकारी गराउन कर्मचारीहरुले पेन डाउन गरेका थिए ।
हिजो आइतवार कर्मचारीहरुको बैठकले पेन डाउन गरेर काम रोक्ने निर्णय गरेकोमा आज सोमवार नगरकार्यपालिका तथा सर्वदलीय बैठक बसेर कर्मचारीहरुसंग सहमति गरि आन्दोलन फिर्ता लिन आग्रह गरेपछि आज दिउसो साढे ४ बजेदेखि आन्दोलन फिर्ता लिइएको महाकाली नगरपालिकाका सुचना अधिकारी रघुनाथ भट्टले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।
उहाका अनुसार नगरपालिका कार्यालय र कर्मचारीको सुरक्षाको माग गर्दै कर्मचारीहरुले पेनडाउन गरेका थिए ।
कार्यपालिकाका सदस्यहरु तथा राजनीतिक दलका प्रतिनिधीहरुले कर्मचारीहरुलाई काम गर्न अप्ठ्यारो पार्न किसिमले गरिएको आन्दोलन गलत भएको निष्कर्ष निकाल्दै कर्मचारीहरुलाई काम गर्न आग्रह गरिएपछि पेन डाउन फिर्ता गर्दै कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका सुचना अधिकारी भट्टले बताउनु भयो ।
यसअघि छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका महाकाली नगरपालिका वडा नम्बर ६ का सुशीला थापालाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा छोडेको भन्दै स्थानीयहरुले प्रहरी कार्यालय र नगरपालिका घेराउ गर्दै ढुंगामुढा गरेका थिए ।
छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी थापा अदालतबाट धरौटीमा छुट्नु भएको थियो ।
Comments are closed.