डा. राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारी तिनैजना गभर्नर पदका बलिया दाबेदार

नेपाल राष्ट्र बैंकको गभर्नर पद खाली भएको १९ दिनपछि सोमबार  नियुक्तिका लागि सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरि बास्कोटा सम्मिलित सिफारिस समितिले नयाँ गभर्नरका लागि डा. राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो ।

राष्ट्र बैंक ५ चैतदेखि कायमु कायमका भरमा छ । गभर्नरको कार्यकाल सकिनु एक महिनाअगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भए पनि सरकारले डेपुटी गभर्नर सिवाकोटीलाई कामु दिएर बसेको थियो ।

सोमबारको सिफारिसपछि भने अब राष्ट्र बैंकले नेतृत्व पाउने पक्का भएको छ । अर्थमन्त्रालय श्रोतअनुसार सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्ति गर्नेछ ।

डा. चिरञ्जीवि नेपालको ५ वर्षे कार्यकाल पूरा हुनै लाग्दा राष्ट्र बैंकको गभर्नरका लागि आकांक्षीहरुको ताति नै थियो । आधा दर्जन बढी आकांक्षीहरु मध्येबाटै समितिले ३ जनाको नाम सिफारिस गरेको छ ।

सिफारिसमा परेका तीनै जना बलिया दाबेदारका रुपमा हेरिएका व्यत्तिः हुन् । यसकारण पनि अहिले यो नै व्यक्ति गभर्नर बन्छ, भनेर ठोकुवा गर्ने अवस्था भने छैन ।

तिनैजना बलिया दाबेदार

सिफारिसमा परेका तीनैजना बलिया दाबेदार हुन् । यस अघि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा अर्थमन्त्री डा. रामशरण महतले ३ जनाको नाम सिफारिस गरेका थिए । जसमा दुईजना डेपुटी गभर्नरद्वय महाप्रसाद अधिकारी र महेश काफ्ले परेका थिए । अर्का व्यक्ति भने कोइरालाकै तत्कालीन आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपाल थिए । दुईजना कमजोर दाबेदार भएका कारण नेपाल गभर्नर हुन्छन् भन्ने नियुक्तिअगावै चर्चा चलेको थियो ।

योपटक भने अवस्था फरक छ । सिफासिरमा परेका कामु गभर्नर सिवाकोटी नेकपामा पनि पूर्वएमाले निकटका व्यक्ति हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकै नजिक देखिने उनी गभर्नरका लागि ठूलै कसरत गरिरहेका छन् ।

अन्यका तुलनामा उनलाई बलियो दाबेदार मानिएको थियो । यसको प्रमुख कारण भने डा. राजन खनाल हुन् । डा. खनाल अर्थमन्त्रालयको सचिव हुँदा नै गभर्नर बनाउन अर्थमन्त्रीले चाहेको समाचार अनलाइनखबरमा प्रकाशन भएको थियो ।

त्यसपछि उनले आफूलाई चाहना नभएको बताएका थिए । उनले आफूलाई चाहना नभएको बताएपछि सिवाकोटीलाई बलियो दाबेदार मानिएको थियो । तर, खनाललाई गभर्नर बनाउन अर्थमन्त्री खतिवडा निकै तातेका छन् ।

सिफारिसमा परेका अर्का व्यक्ति अधिकारी पनि निकै बलिया दाबेदार हुन् । हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारीमा रहेका उनी राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर हुन् । अधिकारी बलिया दाबेदार यस अर्थमा पनि हुन् कि उनी दोस्रो पटक गभर्नरका लागि सिफारिसमा परेका छन् ।

अहिले सिफारिस भएका तीनै जना उस्तै दाबेदार भएका कारण अब प्रधानमन्त्रीले जसलाई चाह्यो, त्यही व्यक्ति मुलुकको १७ औं गभर्नर बन्नेछन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.