महेन्द्रनगर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै पदबाट राजीनामाको माग गरेको छ। शुक्रबारको प्रतिनिधि सभा बैठकमा वेल घेराउ गर्दै कांग्रेसका सांसदहरूले ुसहकारी पीडितलाई न्याय देऊ, गृहमन्त्री राजीनामा देऊु भन्ने नारा पनि लगाएका थिए।
सहकारी प्रकरणमा जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले केही दिनदेखि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु बाट जबाफ मागिरहेको छ। तर प्रधानमन्त्री संसदमा उपस्थित भएका छैनन्। गृहमन्त्री लामिछानेलाई राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न सभामुख देवराज घिमिरेले समय दिए पनि कांग्रेस सांसदहरूले वेल घेराउ गरेपछि कार्यसूचीबाटै यो विषय हटाएर चैत ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ।
कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्न नपाएका गृहमन्त्री लामिछानेलाई संघीय संसद भवन परिसरमा पत्रकारहरूले शुक्रबार अपराह्न प्रश्न सोधेका थिए। त्यसको जवाफ दिँदै लामिछानेले आफू कति दिन गृहमन्त्री हुने थाहा नभए पनि डटेर काम गरिराख्ने बताए।