विश्व कोरोना भाइरसको महामारीमा छ। नेपालमा हालसम्म नौजनामा संक्रमण भेटिएको छ। जसमा चारजना सुदूरपश्चिमका छन्। चारैजनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको मात्र उपचारमा खासै समस्या देखिएको छैन र ठूलो मात्रामा संक्रमण पनि फैलिएको छैन। तर जोखिमको खतरा भने उच्च छ। यही जोखिम न्यूनीकरण गर्न मुलुकभर लगाइएको लकडाउन तेस्रो साता चलिरहेको छ।
सुदूरपश्चिममा कोरोना संक्रमण युरोपका विभिन्न मुलुकमा वा छिमेकी मुलुक भारतमा जसरी फैलिए के होला ? यसको कल्पना गर्नसमेत स्वास्थ्यकर्मी डराइरहेका छन्। उनीहरुको डरको मुख्य कारण हो– पूर्वाधार, उपकरण र जनशक्ति अभाव।
केही दिनअघि डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ज्योति पाण्डेले जिल्लामा कसैलाई कोभिड–१९ को संक्रमण पुष्टि भए उपचारका लागि आइसियू र भेन्टिलेटर भएको ठाउँमा पठाउनुपर्ने बताएकी थिइन्। सरकारले कोभिड–१९ संक्रमण भएका र सदिग्ध बिरामीलाई जिल्ला अस्पतालमै उपचार व्यवस्था मिलाउन निर्देश गरेको छ। सरकारको निर्देशनपछि जिल्ला अस्पतालहरुले जसोतसो व्यवस्था मिलाइरहेका छन्। ‘अहिले सामान्य बिरामीलाई त यहीं उपचार गर्ने व्यवस्था मिलाएका छौं,’ डा. पाण्डेले भनिन्, ‘गम्भीर अवस्थाका बिरामी भए त बाहिर पठाउनैपर्छ।’
डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश बिष्ट कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई आइसोलेसन आइसियूमा नराखे ज्यान नै जोखिममा पर्न सक्ने बताउँछन्। ‘सामान्य अवस्थाकालाई त जिल्लामै उपचार गरौंला,’ उनले भने, ‘गम्भीर अवस्थाका बिराममीलाई त भेन्टिलेटरसहितको आइसोलेसन आइसियू चाहिन्छ। जुन हामीसँग छैन।’
डडेल्धुरा अस्पताल सुदूरपश्चिमका पहाडी जिल्लाको सबैभन्दा राम्रो मानिन्छ, जुन संघीय सरकार मातहता छ। कोभिड–१९ संक्रमणबाट गम्भीर बनेका बिरामीलाई अनिवार्य रुपमा भेन्टिलेटरसहितको आइसियू चाहिन्छ तर सुदूरपश्चिम पहाडका अस्पतालमा यो सुविधा शून्य छ। प्रदेशभरिमा सेती प्रादेशिक अस्पतालमा मात्र आइसियूका पाँचवटा शड्ढया छन्। भेन्टिलेटर भने एउटा मात्र छ। भेन्टिलेटर नभएको अवस्थामा कोरोना संक्रमणले महामारीको रुप लिए उपचारमा बाधा पर्ने चिकित्सक बताउँछन्।
‘भेन्टिलेटर शून्य भने नै हुन्छ। हामीसँग भएको एउटा अन्य बिरामीका लागि पनि प्रयोग गर्नुपर्छे,’ सेती प्रादेशिक अस्पताल धनगढीका प्रवक्ता एबं इमरजेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले भने, ‘भएको एउटा भेन्टिलेटरलाई कोभिड–१९ उपचारमा प्रयोग गरे अरुलाई के गर्ने ?’ कोभिड–१९ का बिरामीका लागि लक्षित गरेर थप पाँचवटा आइसियू र दुइटा भेन्टिलेटर जडानको काम भइरहेको उनले बताए। ‘तर काम कहिले सम्पन्न हुन्छ, थाहा छैन,’ उनले भने।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले प्रदेश स्वास्थ्य क्षेत्रमा पूर्वाधार, उपकरण र जनशक्तिमा कमजोर अवस्थामा रहेको स्वीकारे। उनले भने, ‘सामान्य बिरामीको उपचार त जिल्लामै गर्न भनेका छौं। गम्भीर प्रकृतिका बिरामीका लागि भने अवश्य पूर्वाधार र उपकरण कम छ।’ भेन्टिलेटरबिनाको आइसियूले पनि काम नगर्ने उनले बताए। ‘आइसियूमा भेन्टिलेटर अनिवार्य चाहिन्छ,’ उनले भने।
भेन्टिलेटरको संख्या बढाउन प्रदेश सरकारबाट पहल भइरहेको निर्देशक अवस्थीले बताए। ‘अबको एक सातादेखि दस दिनभित्र सबै जिल्ला अस्पतालमा भेन्टिलेटर पु¥याउने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘बिहीबार प्रदेश सरकार मन्त्रिपरिषद ले २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको छ।’
सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरेको छ। जहाँ हालसम्म सुदूरपश्चिममा संक्रमित भेटिएका चारजनाको उपचार भइरहेको छ। तर अस्पतालका चिकित्सक भने असन्तुष्ट छन्। ‘एउटै अस्पतालमा कोभिड– १९ र अन्य बिरामीको उपचार गर्दा क्रस इन्फेक्सनको सम्भावना प्रबल हुन्छ,’ अस्पतालका प्रवक्ता डा. जोशी भन्छन्, ‘सरकाले यसलाई गम्भीर रुपमा लिएर आवश्यक निर्णय लिनुपर्छ।’
सेती प्रादेशिक सुदूरपश्चिमको एकमात्र रेफरल अस्पताल पनि हो, जहाँ दैनिक सयौं अन्य रोगका बिरामी पनि उपचार गर्न पुग्छन्। त्यसैले क्रस इन्फेक्सनको जोखिम घटाउन कि सेती प्रादेशिक अस्पताललाई कोभिड–१९ को मात्रै उपचार गर्ने बनाउनुपर्छ कि कुनै अर्को स्थानमा कोभिड–१९ विशेष अस्पताल बनाउनुपर्ने डा. जोशीले बताए। ‘एउटै अस्पतालमा कोभिड–१९ का बिरामी आउने र अरु पनि आउँदा संक्रमणको जोखिम अत्यधिक हुन्छ,’ उनले भने। युरोपका देश र अमेरिकाले भोगिरहेको समस्याबाट नेपाल सरकारले पनि शिक्षा लिनुपर्ने उनले बताए।
डा. जोशीको भनाइ जायज रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. अवस्थीले पनि बताए। ‘कुरा जायज हो,’ उनले भने, ‘तर, अहिलेको अवस्थामा विकसित देशले त व्यवस्थापन गर्न सकिरहेका छैनन् भने हाम्रा लागि निकै कठिन छ।’ सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रमा तत्काल ठूलो भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्न निकै अप्ठेरो हुने उनले बताए।