महेन्द्रनगर । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले महाकाली नदि तटिय क्षेत्रका समुदायहरूलाई प्राथमिक उपचार सामाग्री वितरण गरेको छ। बुधबार एनएनएसडब्ल्यूएले डीसीए नेपालसँगको साझेदारीमा सञ्चालित सुदृढ परियोजनामार्फत भीमदत्त नगरपालिकाका ११ र दोधारा चाँदनी नगरपालिकाका १४ गरि २५ वटा विपद् व्यवस्थापन समितिलाई नियमित कार्यालय सञ्चालन तथा प्राथमिक उपचार सामग्रीहरू वितरण गरेको हो।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले भीमदत्त नगरपालिकाका ११ वटा विपद् व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण गर्नुभयो भने, दोधारा चाँदनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले दोधारा चाँदनी नगरपालिकाका १४ वटा समितिलाई सामग्री वितरण गर्नुभएको हो।
एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले महाकाली नदि तटिय क्षेत्रका वस्तीहरूलाई विपद् प्रतिकार्य गर्न तथा नियमित कार्यालय सञ्चालन गर्नका लागि स्टेशनरी सामग्री साथै प्राथमिक उपचार सामग्री वितरण गरिएको बताउनुभयो।
प्रत्येक विपद व्यवस्थापन समितिलाई प्राथमिक उपचारका लागि टिनको बाकस, कटन रोल, कटन गेज, बेन्डेज, बेटाडिन, हेण्ड प्लास्ट, सर्जिकल कैँची, सर्जिकल फोरकेप, मूभ, डेटोल साबुन र नियमित कार्यालय सञ्चालनका लागि माईनट रजिस्टर, बचत रजिस्टर, क्रेडिट रजिस्टर, स्ट्याम्प पेड, पञ्चिङ्ग मेसिन र बल पेन गरी जम्मा रू ५ हजार ५७ बराबरको सामग्री वितरण गरिएको बताउनुभयो।
उहाँले डडेल्धुराको पर्शुराम नगरपालिकाका ५ वटा विपद् व्यवस्थापन समितिलाई पनि प्राथमिक उपचार सामग्री वितरण गरिने बताउनुभयो। भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले समुदायमा विपद् व्यवस्थापन, न्युनिकरण तथा प्रतिकार्यका लागि सराहनीय कार्य गरेको भन्दै धन्यवाद दिनुभयो।
त्यस्तै दोधारा चाँदनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले दोधारा चाँदनी नगरपालिकाका विपद्को उच्च जोखिममा रहेको समुदायहरूलाई उत्थानशील बनाउन काम गर्दै आएको बताउनुभयो।
सुदृढ परियोजनाले कञ्चनपुरको भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र डडेल्धुराको पर्शुराम नगरपालिकामा प्राकृतिक विपद् तथा जलवायु परिवर्तनका कारण भौतिक, मानवीय र जीविकोपार्जनमा पर्ने क्षतिलाई कम गर्न स्थानीय पालिका, वडा कार्यालय र समुदायको अग्रसरतामा विपद् जोखिम न्यूनिकरणका लागि कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
Comments are closed.