मुख्यमन्त्री सोडारीको विश्वासको मत अनिश्चित बन्दै

महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिन सकेका छैनन्। बैशाख २१ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री सोडारीलाई एमालेले सल्लाह नै नगरी विश्वासको मत लिन लागेको बताएपछि अहिलेसम्म विश्वासको मत लिने कार्य अघि बढ्न सकेको छैन् ।

एमालेले सल्लाह नै नगरी विश्वासको मत लिन लागेको बताएपछि शनिबार २२ गते साँझ ५ बजेका लागि सारिएको बैठकमा पनि एमाले विश्वासको मत दिन तयार भएन ।त्यसपछि बैठक बस्ने दिन एमाले संसदीय दलका नेता राजेन्द्र रावल काठमाडौं हिँडिदिएपछि स्थगित भएको प्रदेश सभाको बैठक अनिश्चित बनेको छ ।

उता केन्द्रमा पनी एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको इगो पनि मुख्यमन्त्री सोडारी झन अप्ठ्यारोमा परेका छन् । केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख ६ गते नियुक्त दीर्घ सोडारीलाई नेकपा एमालेले विश्वासको मत दिन आनाकानी गरिरहेको छ ।

एमालेले वैशाख १५ गते बझाङ १ मा भएको उपनिर्वाचनमा विजयी दमनबहादुर भण्डारीले प्रदेश सभा सदस्यको शपथ नलिएसम्म विश्वासको मत नदिने अडान लिएको छ । यता सोडारीलाई विश्वासको मत लिन हतार परेको छ । हतारमा रहेको सोडारीलाई एमाले अल्झाइदिएको छ ।

एमालेले विश्वासको मतमा ढिलाइको कारण दमन भण्डारी बुवाको काजकिरियामा रहेको देखाए पनि मुख्य समस्या केन्द्रको गठबन्धन हो । केन्द्रमा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल प्रधानमन्त्रीका लागि नेपाली कांग्रेससँगको संवाद र अरु विकल्पको खोजीमा रहेको थाहा पाएसँगै एमाले अध्यक्ष ओली बिच्किएका छन् ।

नेपाल–ओली सम्बन्धमा समस्या देखिँदा त्यसको असर सुदूरपश्चिम सरकारमा पनि परेको हो ।बझाङमा विजयी दमनले बाबुको काजकिरिया सकेर बाहिर निस्किने तयारीमा छन् । उनी वैशाख २६ गते धनगढी झरेर २७ गते मात्रै प्रदेश सभामा उपस्थित हुने तयारीमा छन् ।एमालेका एक नेताले दमन धनगढीमा उपस्थित भए पनि केन्द्रबाट आदेश नआएमा कार्यक्रम फेरबदल पनि हुन सक्ने बताए ।

यस्तो अवस्थामा सोडारीले वैशाख २७ अगाडि विश्वासको मत लिने सम्भावना कम छ । एमाले दलका नेता राजेन्द्र रावल दमन भण्डारीले शपथ लिएपछि मात्रै सोडारीलाई विश्वासको मत दिन सकिने बताउँछन् ।

सम्बन्धित

Comments are closed.