मुख्यमन्त्रीले जेठ ३ गते विश्वासको मत लिने

महेन्द्रनगर । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन फेरि प्रदेश सभा बैठक आह्वान गरेका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिने भन्दै प्रदेश सभा बैठकको आह्वान गरेका हुन्। प्रदेशसभा सचिवालयले त्यसदिन बिहान सवा १० बजेका लागि बैठक आह्वान गरेको छ।

मुख्य समर्थक दल एमाले प्रदेश संसदीय दलले विश्वासको मत दिने नदिनेमा भने अझै मुख खोलेको छैन। संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आफूहरूसँग मुख्यमन्त्रीले कुनै छलफल नगरेको बताए। उनले पार्टी केन्द्रबाट आउने निर्देशनअनुसार गर्ने बताए। ‘अहिलेसम्म कुनै निर्देशन आएको छैन,’ उनले भने।

एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका सोडीरीले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए। एमाले विश्वासको मत दिन तयार नभएपछि बैठक स्थगित भएको थियो। जेठ ४ गते विश्वासको मत लिने अन्तिम दिन हो। मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि बोलाइएको यो तेस्रो पटक हो।

यसअघि मुख्यमन्त्री सोडारीलाई सत्ता घटक एमालेले विश्वासको मत नदिने अडान लिएका कारण यसअघिका बैठक स्थगित गरिएको थियो। सूचनामा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री दीर्घबहादुर सोडारीज्यूले मिति २०८१ जेठ ३ गते बिहीबार बिहान १०ः१५ बजे प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनार्थ प्रदेश सभाको वैठक बस्ने भएकाले सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादी केन्द्रका ११, नेकपा एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वत्रन्त्रका एक÷एक सांसद रहेका छन्।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.