महेन्द्रनगर । कञ्चनपुरमा रहेको एक सामुदायिक वनमा प्रहरीमाथि गोली चलेको छ । हिजो (बुधबार) विहान करिब ३ बजेतिर कृष्णपुर नगरपालिका–९ स्थित जानकी सामुदायिक वन पिपरियाको क्षेत्रमा प्रहरीमाथि एक राउण्ड गोली चलाइएको हो । तर, गोली कसैलाई लागेको भने छैन, ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी डिएसपी उमेश जोशीले अपरेसनका लागि खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको सादा पोसाकको प्रहरी टोलीे माथी एक राउन्ड फायर भएको बताउनु भयो । सो जंगल क्षेत्रको बाटो हुँदै अवैध चोरी तस्करीको सामान भित्र्याउने गरेको भन्ने सूचनाको आधारमा टोली त्यहाँ गएकोमा यस्तो घटना घटेको उहाँले बताउनु भयो ।
प्रहरीले उनीहरूले सिकार गरेको मृगको ४ टाउको, १५६ केजी चित्तलको मासुसहित चक्कु र से १ प ४१११ नम्बरको मोटरसाइकल बरामद गरेको छ । गोली चलाउनेहरूलाई प्रहरीले समात्न खोजेपनी समात्न भने सकेन, उनीहरू भाग्न सफल भएको बताइन्छ ।
१२देखी१३ जनाको संख्यामा रहेका उनीहरू मोटरसाइकलमा भागेर फरार भएका थिए । उनीहरुले सो सिकार शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गरेर मासुको तस्करी गर्ने गरेको प्रहरीको आशङ्का छ। अहिले प्रहरीले उनीहरूको खोजी र पहिचान भैरहेको जनाएको छ । साथै उक्त विषयलाई वन कार्यालयले हेरिरहेको बताइएको छ ।